सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई
स्याङजा ।
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷०८० का लागि बिनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरुले बुवा–आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो । बुवा–आमाको नाममा रहेको ट्रष्टमा बजेट छुट्टाएको आलोचना गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ परे । उनले बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि एक करोड रकम छुट्टाएपछि उनकै गृहजिल्ला स्याङजाका नागरिकहरुले सामाजिक सञ्जाल मार्फत चर्को बिरोध गरेका थिए । जनताको दैनिकीमा परेको समस्यालाई हल गर्नुको साटो मन्त्री श्रेष्ठले आफ्ना बुवाआमाको नाममा ट्रष्ट बनाउन १ करोड छुट्टाएको भन्दै शनिवार दिनभर सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । विदेश तथा जिल्लामै बसेका स्याङ्जावासीले सामाजिक सञ्जाल मार्फत रकम फिर्ता गराउन ठुलो दवाव दिएका थिए । रकम फिर्ता देखि प्रदेश मन्त्रीबाट राजीनामा समेत माग गर्दै सामाजिक सञ्जालमा चर्को विरोध शुरु भएपछि आईतवार बिहान मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल बाटै सो रकम फिर्ता गरेको उल्लेख गरे ।
बेला बेलामा विवादमा आइरहने प्रदेश मन्त्री श्रेष्ठलाई अन्त्यमा सामाजिक सञ्जालले गलाएर छाडेको छ । उनले आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्टाएको बजेट नलिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले आफ्नो राजनीति सधैं जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ति भएको भए माफी दिन र सच्चिने मौका दिन समेत फेसबुक मार्फत आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै आफ्नो बारेमा विभिन्न भ्रम सृजना भएको उल्लेख गर्दै उनले आफू उक्त विषयमा गम्भिर रहेको लेखेका छन् । मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्याइएको शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न समेत अर्थमन्त्रीलाई आग्रह गरेका छन् । मेरो स्व.पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो भन्ने पनि उल्लेख गरेका छन् । मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना समेत व्यक्त गरेका छन् ।
रकम फिर्ता गरेर मात्रै नभएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले पाटीको बन्दाम गरेको समेत आरोप लगाएका छन् । मन्त्री श्रेष्ठले पार्टीमा माफी माग्दै मन्त्री पदबाट समेत राजिनामा दिन स्याङजाका काँग्रेस कार्यकर्ताहरुले माग गरेका छन् । यस बिषयमा नेपाली काँग्रेस स्याङजाका प्रवक्ता भरतराज लम्सालले पाटीको ध्यानाकर्षण भएको जनाएका छन् । पार्टी गम्भिर भएको भन्दै यस बिषयमा छलफल हुने र सबै बिषय सार्वजनिक हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया