पटके सवारी कर खारेज गर्ने पहिलो नगरप्रमुख
स्याङ्जा ।
स्थानीय सरकारले राजस्वको दायरा बढाउन पटके सवारी कर उठाउने गरेका छन् । नयाँ आर्थिक बर्ष शुरु हुने वित्तिकै नयाँ कर प्रणाली लागु गर्दै पटके सवारी कर लिदै आएका छन् । नयाँ आर्थिक बर्ष शुरुवातमा पुतलीबजार नगरपालिकाले भने पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले पुतलीबजार नगर क्षेत्रभित्र सडक उपयोग गरे वापत लिइने शुल्क नलिने निर्णय भएको नगरपालिकाले जनाएको छ । गएको आर्थिक बर्षमा विवादमा आएको पटके सवारी कर नयाँ जनप्रतिनिधि आउना साथ खारेज गर्ने निर्णय भएको छ । स्थानीय पालिकाले जथाभावी कर लिन थाले भन्ने गुनासो आइरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो । सवारी कर खारेज गर्ने निर्णय भएसँगै पुतलीबजार नगरवासी खुशी भएका छन् ।
योसँगै एकै सडकमा ओहोरदोहोर गर्दापिच्छे कर बुझाउनुपर्ने प्रचलनको अन्त्य भएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । चुनावी घोषणापत्र अनुरुप पटके सवारी कर खारेज गरेको उनको भनाइ छ । पटके कर तिनुपरेको गुनासा चुनावी अभियानमा घरदैलो गर्ने क्रममा स्थानीयबासीले उठाउदै आएका थिए नगर प्रमुख रेग्मीले भने,‘स्थानीयको मागलाई सम्वोधन गर्नुपर्छ भनेर पटके कर खारेज गरेका हौ ।’ नागरिकलाई सास्ती हुनेखालका करका दायराहरु घटाउने प्रयासमा हामी लागेका छौं उनले भने ।
योसँगै बाडखोला–दुलेगौडा ग्रामिण सडक, प्रगतीनगर–बहाकोट ग्रामिण सडक, स्याङ्जा–पुतलीखेत–लाम्पाटा–टिकाजा–सतौं–आरुचौर ग्रामिण सडक, प्रगतीनगर–घुम्ति चिसापानी ग्रामिण सकड, सुम्रेखोला– नुहारभन्ज्याङ–अर्जुनचौपारी ग्रामिण सडक, जाँडखोला–पेल्काचौर ग्रामिण सडक, स्याङ्जा बजार–हुनिकोट ग्रामिण सडक, पुतलीखेत–ठूलीवेशी उनियाचौर–नागडाँडा सडकलगायत अन्य सडकमा समेत सवारी शुल्कवापतको रकम उठाउन र ढाँट तेस्र्याउन नपाउने गरी निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले जानकारी दिए । यसअघि सडक मर्मतसम्भार भन्दै बिभिन्न ८ प्रकारका मुख्य सडकहुदै भित्री सडक छिर्ने मार्गमा सवारी साधन अनुसारका कर लगाउदै आएको थियो । यसैबाट पालिकाले लाखौं रुपैयाँ राजश्व संकलन गथ्र्योे ।
नेपाली काग्रेसबाट स्वागत
नागरिकलाई पटक्कै पिच्छे करलगाउने समस्याले हैरानी हुदै आएको भन्दै पुतलीबजार नगरपालिकाले पटके सवारी कर उठाउने निर्णय खारेजी गरेकोमा नेपाली काँग्रेस पुतलीबजार नगर समितिले यसको स्वागत गरेको छ । नेपाली काँग्रेस पुतलीबजार नगर समितिले असार १५ गते ज्ञापनपत्र बुझाउदै पटके सवारी कर हटाउन ज्ञापनपत्र बुझाएको थियो । समितिले बुझाएको ज्ञापनपत्रको कदर गर्दै नगरपालिकाले नागरिकलाइृ करको बोझ घटाउने निर्णय प्रति नेपाली काँग्रेस पुतलीबजार नगर समिति आभार व्यक्त गर्दछ सभापति सुरजकुमार अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरेको छ ।
पटके करमुक्त नगरपालिका बनाउन काँग्रेसले ज्ञापनपत्र बुझाएको थियो । सो सगै एकिकृत सम्पती करको दायरा पनि घटाउन माग गरेको थियो । अनावश्यक कर लगाउदा स्थानीय सरकारबाट स्थानीय जनता आक्रान्त भएका बेला पटके कर हटाउनुले पनि नागरिकले राहत महशुष गरेको सभापति अधिकारीले बताएका छन् ।
प्रतिक्रिया