सम्पादकीय— फेरी बढ्यो संक्रमण
भारत, चीन लगायत अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न गराउन आग्रह गरेको छ । निरन्तर उकालो लागिरहेको कोरोना संक्रमण ह्वात्तै बढेको छ । नेपालमा पनि कोरोना संक्रमण दर बढेर १० प्रतिशत पुगेको छ । चिकित्सकहरुले खोप नलगाएकाहरु वा पूर्ण मात्रा नलिएकामा संक्रमणपछि स्वास्थ्य जटिलता समेत देखिएको बताएका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए ५’ का कारण संक्रमण तीब्र रुपमा फैलिदै जान थालेको छ । यो भेरियन्ट अहिलेसम्मकै कोरोना भेरियन्टमध्ये छिटो फैलिने भनिएको छ ।
विज्ञहरुका अनुसार घाटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत ‘बीए ५’ का लक्षण मानिएका छन् । संक्रमण दर न्यून हुँदा स्वास्थ्यका मापदण्ड पालना गर्न छाडने प्रवृत्तिका कारण नयाँ भेरियन्ट देखिने बित्तिकै संक्रमण बढेको हो । अहिले समुदायस्तरमा संक्रमण फैलिरहेको छ । अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाएका कारण संक्रमित भए पनि स्वास्थ्यमा जटिलता देखिएको छैन । अस्पतालमा रहेका बिरामीमा तुलनात्मक रुपमा गम्भीर समस्या नदेखिए पनि संक्रमणको ग्राफ हेर्दा चौथो लहर आउने संकेत देखिन्छ । सरकारी स्वास्थ्य अधिकारीहरु समेत दीर्घरोग र खोप लगाएका बुढापाका वा अन्यमा संक्रमणका कारण कस्तो जटिलता देखिन सक्छ भन्नेमा प्रष्ट छैनन् ।
कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गर्दा सरकारी तयारी भने शून्य जस्तै छ । दोस्रो लहरमा देखिएको भद्रगोलबाट सरकारी निकायहरुले चेतेका छैनन् । कोभिड अस्पतालहरु बेवारिसे जस्तै छन् । अक्सिजनको व्यवस्था छैन । भोलिको सम्भावित महामारी पूर्वको तयारी छैन । धेरै नागरिकले बुस्टर डोज लगाएको भए पनि त्यसले कति समयसम्म काम गर्छ भन्ने ग्यारेन्टी छैन । अर्काे डोज खोप लगाउने वा नलगाउने भन्नेमै सरकार अन्यौलमा छ । यस्तो भद्रगोल अवस्थाले सम्भावित महामारी टर्न सक्दैन । छिमेकी देश भारतमा दैनिक संक्रमण बढिरहेको छ । भारतबाट हजारौं मानिस नेपालको सीमा हुँदै प्रवेश गरिरहेका छन् । सीमामा व्यवस्थित परीक्षण नहुँदा संक्रमण बढिरहेको छ । तीब्र गतिमा फैलिने नयाँ भेरियन्ट भएकाले थोरै पनि लापरबाही हुँदा समुदायमा फैलिन बेरै लाग्दैन ।
फेरि नेपालीले जति चेते पनि, जति दुःख भोगे पनि बिर्सने बानी छ । यही कारण संक्रमण बढ्दो छ । मानिसहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने, मास्क नलगाउने प्रवृत्ति बढेको छ । भीडभाड कायमै छ । साबुन पानीले हात धुन छोडिएको छ । जसका कारण पनि संक्रमण फैलिदै छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न कञ्जुस्याई नगरौं । थोरै होसियारीले मात्रै पनि संक्रमित हुनबाट जोगिन सकिन्छ । कोरोनाको जुन कुनै भेरियन्टबाट बच्ने एक मात्र उपाय भनेको जनस्वास्थ्य मापदण्डको पालना नै हो । लापरबाही गर्दा दुर्घटना घट्छ भन्ने कुरा कसैले नभुलौं । सावधानी अपनाऔं ।
प्रतिक्रिया