प्रहरीलाई विपद् व्यवस्थापन सामाग्री

स्याङ्जा ।
अर्जुनचौपारी गाउँपालिकाले प्रहरी चौकीलाई विपद् व्यवस्थापन एवं उद्धारमा प्रयोग हुने विभिन्न अत्यावश्यक सामाग्रीहरू प्रदान गरेको छ । स्थानीय प्रहरी चौकीको आवश्यकता र मनसुनजन्य विपद्को समयलाई मध्यनजर राखेर विपद् व्यवस्थापनमा प्रयोग हुने करिब ३० हजार बराबरको सामाग्री प्रदान प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । उनका अनुसार पालिका अहिले मनसुनजन्य विपद्का कारण आक्रान्त बनेको छ । दिगो विकासको भावना अनुरूप काम गरि मनसुनजन्य विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिएको पालिकाले जनाएको छ । पालिकाको केन्द्र भएर बग्ने दरौंखोला नदी दोहन पूर्ण रूपमा बन्द गरि विपद्जन्य जोखिम न्यूनीकरण गर्न लागिएको पालिकाका अध्यक्ष तिवारीले बताए । नदीको अनियन्त्रीत दोहन हुँदा सिंचाइ प्रणालीमा समेत असर परी कृषि उत्पादनमा समेत नकारात्मक असर परेकाले नदी दोहन रोक्न लागिएको उनको भनाई छ ।

पालिकाले प्रहरीलाई ६ थान लाइफ ज्याकेट, २ थान बाल्टी, ५ थान विभिन्न साइजका रबर ट्युब र १०० मिटर लाइन डोरी हस्तान्तरण गरेको चौकीका प्रहरी वरिष्ठ नायव निरिक्षक भेषराज रेग्मीले जानकारी दिए । प्रहरीको अनुरोधलाई स्वीकार गरी नवनिर्वाचित सरकारले जनताको राहत उद्धारमा खटिने प्रमुख संयन्त्र प्रहरीलाई सामाग्री प्रदान गरेकोमा नेपाल प्रहरी र व्यक्तिगत तर्फबाट धन्यवाद दिए । गाँउपालिका उपाध्यक्ष सपना गुरुङ्ले सामाग्रीको सहिसदुपयोग गरी नागरिकको सुरक्षामा ध्यान दिन सुरक्षाकर्मीलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया