स्याङ्जाका सडकबाटै झण्डै ७१ लाख संकलन

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले एकबर्षको अवधीमा झण्डै ७१ लाख राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा सडकमा कानुन उल्लघंन गरेका सवारी साधनलाई कारवाही गर्दा सो राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्षमा विभिन्न सवारी साधनलाई कारवाही गर्दा २०७८÷०७८ मा ७० लाख ८४ हजार राजस्व संकलन भएको छ । गएको आवमा ९ हजार ९ सय १६ सवारी साधन कारवाहीमा परेका थिए । कारवाहीमा सबै भन्दाबढी दुईपाङ्ग्रे सवारी साधन परेको तथ्याङ्क ट्राफिक प्रहरी सगँ छ ।

ट्राफिक प्रहरीका अनुसार गत आवमा ट्रक १११६, बस १२५९, जिपकार भेन २३०५, ट्याक्टर ११०६, मोटरसाईकल ३६८४ र अन्य ४४६ गरी ९९१६ सवारी साधन सडक कानुन उल्लघंनमा परेका छन् । त्रिबर्षिय तथ्याङ्क अनुसार स्याङ्जामा कारवाहीको संख्यामा भने धेरैनै बृद्धि भएको देखिएको छ । कारवाही सगै राजस्व संकलनमा पनि गतआव सफल भएको देखिएको छ । हरेक बर्ष सवारी साधनको बृद्धि हुनुले पनि कारवाही संख्या बढेको ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख मीनबहादुर कुँवरले बताए । अगाडीका आवमा कोभिड संक्रमणले सडकमा कमै सवारी साधन गुडेको कारण पनि गतआवमा सवारी कारवाही संख्या बढेको देखिएको उनले बताए ।

सडकमै अस्पष्ट भएका नम्वर प्लेट लेखिदिने, यात्रु र चालकदललाई नमस्कार अभियान सगै सचेतना अभियानलाई तिब्र पारेको दावी उनको छ । यसले गर्दा शुरुभएको आर्थिक बर्ष २०७९÷०८० मा कारवाही संख्या घट्ने अनुमान जिल्ला ट्राफिक प्रहरीको छ । मापदण्ड भन्दा बढी यात्रु चढाउने क्रम ग्रामिण क्षेत्रमा बढेकोले अब ट्राफिकको निगरानी ग्रामिण सडकमा बढाउने कुँवरले बताए । त्रिवर्षिय तथ्याङक अनुसार स्याङजामा आर्थिक बर्ष २०७५÷०७६ मा ११ हजार २ सय २८ सवारी कारवाहीमा पर्दा ७२ लाख ६८ हजार ५ सय, आर्थिक बर्ष २०७६÷०७७ मा ७ हजार ९ सय ९२ सवारी साधन कारवाहीमा पर्दा ५२ लाख १५ हजार ५ सय र आर्थिक बर्ष २०७७÷०७८ मा ६ हजार ९ सय ४७ सवारी साधन कारवाहीमा पर्दा ४५ लाख ७० हजार राजस्व ट्राफिक प्रहरीले सडकबाटै संकलन गरेको थियो ।

प्रतिक्रिया