संघको नेतृत्वलाई बर्खास्तको माग गर्दै राजीनामा

स्याङ्जा ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघलाई सदावहार अध्यक्ष तीर्थबहादुर थापाले मागी खाने भाँडो बनाएको भन्दै चर्चित कलाकार घनश्याम रिजालले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । बिगत २० बर्षदेखि संघको सदावहार अध्यक्ष रहेका थापाले कार्यक्रमका नाममा विदेश पठाउँदा गैह्रकलाकारसँग पैसा असुलेर मानव तस्करी गरेको आरोप पनि लागेको छ ।

विभिन्न देशका जनसम्पर्क समितिहरुलाई गैह्रकलाकारहरुलाई कलाकार बनाएर संघकै दुरुपयोग गरिनुले भोलि संस्थालाई हेर्ने दृष्टिकोण के हुन्छ भन्ने प्रश्न सृजना गरेको बताउँदै चर्चित लोकगायक रिजालले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कि त नेपाल सांस्कृतिक संघलाई तुरुन्त महाधिवेशनको मिति तय गर्न निर्देशन देओस् नत्र सांस्कृतिक संघको नेतृत्वलाई तुरुन्त बर्खास्त गरोस् भन्ने माग गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका सदस्यसमेत रहेका चर्चित लोकगायक रिजालले संघमा धेरै विकृति र व्यक्तिवादी प्रवृति हावी रहेको, राम्रा मान्छे भन्दा हाम्रा मान्छेहरुको बाहुल्यताले संघ कतातिर जादैछ भन्ने बिषय सोचनीय बनेको बताएका छन् ।
‘कसैको कामको मुल्याङ्कन भन्दा चाकडी, चाप्लुसी र गुलामीलाई प्रशय दिदै नेतृत्वको व्यक्तिवादी मनोमानीपनले संस्थालाई कहिल्यै हित गर्दैन, न विधिसम्मत न विधानसम्मत तरिकाले चलेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा रहेका गलत प्रवृतिका व्यक्तिहरुबाट कांग्रेसलाई सहयोग होला भनेर सोच्नु नै दुर्भाग्य हो’ उनले भनेका छन् ।

लोकगायक रिजालले राजीनामा पत्रमा भनेका छन् ‘यस्तो दर्जनौं प्रवृति झांगिएको संस्थामा केन्द्रीय सदस्यको रुपमा रहन मेरो व्यक्तिगत स्वभाव र स्वाभिमानले दिएन, त्यसैले आजैको मितिबाट लागु हुने गरी राजीनामा पेश गरेको छु, नेपाल सांस्कृतिक संघ र नेपाली कांग्रेसको हित चिताउनु भएको छ भने तपाई लगायत अन्य साथीहरुले पनि राजीनामा दिनुहुनेछ भन्ने मलाई विश्वास छ, जय नेपाल ।’

 

प्रतिक्रिया