व्यवसायीहरुलाई करदाता शिक्षा

भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिकाका व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको छ । करदाता सेवा कार्यालय, स्याङ्जाको आयोजना र भीरकोट उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा पालिकाभित्र उद्योग, व्यापार र व्यवसाय गर्ने व्यवसायीहरुलाई करदाता शिक्षा प्रदान गरिएको हो ।
आँधिखोला सिटीहलमा संचालन भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा करदाता सेवा कार्यालय, स्याङ्जाका कर अधिकृत शोभाकान्त पंगेनीले व्यवसायीहरुलाई प्रशिक्षण दिएका थिए । पालिकाभित्र व्यवसाय गर्ने करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रममा कर अधिकृत पंगेनीले आयकर, स्थायी लेखा नम्बर, करका प्रकार, करको दायरा, आर्थिक ऐन, आयकर ऐन, अन्त शुल्क, व्याज, दण्ड जरीवाना, इटिडिएस, करदाता पोर्टलको प्रयोग, आर्थिक वर्ष २०७९÷८० को बजेटमा भएको करसम्बन्धि व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कर सम्बन्धि विविध जानकारी पाएपछि व्यवसायीहरु खुशी भएका छ्न् । “कर सम्बन्धि सामान्य जानकारी नहुँदा व्यवसायीहरुले अनावश्यक झमेला र जरीवाना लगायतका समस्या झेल्नु परेको थियो ।” व्यवसायी केशर बहादुर खत्रीले भने, “करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघको पहलमा संचालन भएको अहिलेसम्मकै सबैभन्दा राम्रो काम हो ।”
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले सहभागी व्यवसायीहरुलाई आफूले गरेको व्यवसायको राम्रो हिसाब किताब राख्न र तिर्नुपर्ने करको बारेमा जानकार रहन आग्रह गरेका थिए । उनले करदाता शिक्षा कार्यक्रमको आयोजना गरेकोमा करदाता सेवा कार्यालय, स्याङ्जा र करदाता शिक्षा कार्यक्रममा सहभागी व्यापारी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरे ।
यसैगरि जिल्लाको वालिङमा उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेशका प्रमुख सुदिप अर्यालले समयसापेक्ष प्रबिधिको प्रयोगले सहजै व्यवसाय प्रवद्धन गर्न सकिने बताए । उत्पादनमूलक काम सँगै उचित प्रचार प्रसार गर्न सक्ने हो भने व्यवसाय सहजै फस्टाउन सक्ने उनको भनाई छ ।
कृषक र उद्यमीहरुको समस्या समाधानमा समेत आधुनिक बित्तिय प्रबिधिको प्रयोगले सहज हुने अर्यालको भनाई छ । आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्ने तरिकाको बारेमा समेत अर्यालले जानकारी गराएका थिए । उद्यमी अनुकुल बातावारण बनाउन नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिकले सबैलाई सहयोग गर्ने प्रमुख अर्यालको भनाई छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका सहभागी कृषक तथा उद्यमीहरुले आ आफ्ना समस्याहरु खुलेर बताएका थिए । सरोकारवालाहरुले आफूहरुलाई काम गर्ने बातावरण बनाईदिने हो भने आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताएका थिए ।
प्रतिक्रिया