पुतलीबजार नगरपालिकाले थाल्यो पसल अनुगमन

स्याङ्जा ।
नयाँ आर्थिक बर्ष शुरुभएसगै बजार अनुगमन शुरु गर्न थालिएको छ । पुतलीबजार नगरपालिकाले नगरपालिका भित्रका १२ पसलमा अनुगमन गरेको हो । नियमित बजार अनुगमन गरी बजारलाई स्वच्छता प्रदान गर्ने उदेश्य राखेको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताए । अनुगमनमा बिषयगत पसलहरु अनुगमन गरी व्यवसायीलाई सुझाव दिने वातावरण बनाउने गरी सम्वन्धित कार्यालयका प्रतिनिधिहरु खटिने उनले बताए । नगरपालिकाको १० नम्वर वडामा पर्ने राङखोला बजारबाट अनुगमन शुरु गरेको नगरपालिकाले जनाएको छ ।
बुधवार अनुगमन टोलीले दैनिक उपभोग्य पसलहरु, मासु पसल, औषधी पसल, फलफुल तथा तरकारी पसल र होटल रेष्टुरेन्ट गरी एक दर्जन पसलको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिए । नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता मन्च, घरेलु र प्रहरी लगायतको सहभागितामा अनुगमन भएको रेग्मीले बताए ।
समग्रमा बजारको अवस्था राम्रो देखियो उनले भने,‘नियमित अनुगमन भइरहेकोले बजारको अवस्था सुधारात्मक देखिएको छ ।’ छिटफुटमा केही समस्या देखिएपनि आगामी दिनमा सुधार गर्न व्यवसायीहरुलाई सुझाव दिएको उनले बताए । अनुगमनमा पसल दर्ता, नविकरण, मुल्यसुची र म्याद नाघेका सामाग्रीका बिषयमा हेरिएको उनको भनाई छ । यो आर्थिक बर्षको पहिलोपटक भएकाले व्यवसायीलाई सुझाव, सल्लाह दिएर टोली फर्किएको बताइएको छ ।
प्रतिक्रिया