पुर्व वडाअध्यक्ष मृत भेटिए

स्याङ्जा ।
वालिङ नगरपालिका –९ का पूर्ववडाअध्यक्ष बसन्त श्रेष्ठ बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन् । बिहीबार बिहान ७ बजेतिर वालिङ् १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसँगै लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ग १६ प ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ वर्षीय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । प्रनाउ खनालका अनुसार, ‘ल्गमयल’नामको सेतो रङको किटनासक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको थियो । स्थानीय तह निर्वाचन २०७४ उनी वालिङ नगरपालिका ९ बाट अध्यक्ष पदमा निर्वाचित थिए । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

श्रेष्ठको शवलाई वालिङ गह्रौ नगर अस्पतालमा राखिएको छ । श्रेष्ठका छोराछोरी बिदेशमा भएकाले उनीहरु आएपछि मात्रै पोष्टमार्टम गर्ने वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । श्रेष्ठको निधनमा उनको जन्मक्षेत्र भुम्रे लगायत वालिङ नै यतीबेला शोकमा डुबेको छ ।

 

 

प्रतिक्रिया