‘राजनीति व्यापार गर्ने पेशा होइन, जनसेवा हो’
शेषकान्त पुरी,
युवा नेता,
नेपाली कांग्रेस ।
विपी कोईरालाले नेपाली कांग्रेसको संगठन हेर्न स्याङ्जा जाउ भनेको जिल्लामा कांग्रेसले अघिल्लो पटकको संसदीय निर्वाचनमा भने नराम्रोसंग पराजय भोग्नुप¥यो । नेपाली कांग्रेसले स्याङ्जामा आफ्नो अस्तित्व गुमाउन लागेको कांग्रेसीहरुले नै भन्न थालेका बेला भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले भने केही आशा जगाएको छ । काठमाडौंमा बसेर पनि स्याङ्जा कांग्रेसका गतिविधिमा १४ बर्षदेखि सक्रिय भूमिका निर्वाह गरेका जिल्लाको चापाकोट नगरपालिकाका शेषकान्त पुरी केन्द्रदेखि ग्रामिण स्तरमा समेत कांग्रेसको साख जोगाउन आफु लागिपरेको बताउछन् । उनीसंग पब्लिक आवाज पत्रिका र अनलाईनका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको संक्षिप्त अंश……………..
१. पुरी जी आरामै हुनुहुन्छ ? यहाँ नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुनुहुन्थ्यो, तपाई उम्मेदवार हुनुको कारण के होला ?
धन्यवाद, नमस्कार । म आरामै छु । यहाँले महत्वपूर्ण कुरा उठाउनु भयो । पार्टीलाई विधान भन्दा बाहिरबाट पार्टी चलाएको जस्तो मैले अनुभव गरेँ, पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको पनि महसुस गरेकाले अब यसरी चल्दैन, देशको हरेक राजनीतिक परिवर्तनमा नेतृत्व गरेको, देशको पुरानो पार्टी, यसलाई दरिलो र बलियो बनाइयो भने मात्रै नेपाली जनताले सुख पाउँछन्, त्यसकारण यस पार्टीलाई विधि विधान सम्मत चलाउनु पर्छ भनेर हिम्मत बाँधेर म उम्मेदवार बनेको थिए । लामो समयसम्म नेपाली कांग्रेस जिताउन हरेक तह र तप्काबाट सक्रिय भुमिका खेल्दै आए । नेपाली कांग्रेसमा दुइटा धार भएर लड्दा रहेछन् । म एकताको सुत्रधार बोकेर हिडेको मान्छे । सबै एकै ठाउँमा उभिनु पर्छ भन्ने कति रहेछन् त एकताको पक्षधर भनेर कुनै टिममा नरही मैले उम्मेदवारी दिए, आम जनता एकताको पक्षमा रहेछन् । मैले ४ सय ५१ अत्यन्तै सम्मानजनक मत पाए । त्यसैले आम कार्यकर्ता बीच म के रहेछु भनेर बुझ्न त्यतीबेला मेरो उम्मेदवारी थियो ।
२. यहाँ कहिले देखि र किन नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको हो ?
४८ सालको मङ्सीरमा जनप्रिय माध्यमिक बिद्यालय चिन्नेबासमा पढ्न गइयो । म शुद्ध भन्दा कम्युनिस्ट पृष्ठभुमिको परिवारको मान्छे । त्यहाँ जादा लुकेर एक चोटि शशी लम्सालजिले नेबिसंघको कार्यक्रम राख्नुभयो । उहाँले समाजवादको बिषयमा केही कुरा गर्नुभयो । नेबिसंघको बिषयमा केही कुराहरु गर्नुभयो । त्यसपछि मेरो भित्री मानसपटलमा प्रजातन्त्र नै संसारको उत्कृष्ट शासन पद्धति हो भन्ने लाग्यो । त्यसै क्रममा नेपालको नागरिक स्वतन्त्रताको लागि नेपाली कांग्रेसको योगदान बिपिको समाजवाद, कांगेसको भुमिका राम्रो बुझेर लामो समय देखि निरन्तर नेपाली कांग्रेसमा आस्थावान हुँदै आए । २०५२ सालमा मेरो गाउँ तत्कालीन सेखाम गाबिस तरुण दलको अध्यक्ष मेरा आदरणीय दाजी इन्द्रबहादुर शाहीको समितिको सदस्य पनि भए र निरन्तर पार्टीका क्रियाकलापमा सक्रिय हुँदै आएको छु । जब म २०५२ सालमा एसएलसी पास गरेर क्याम्पसमा गएँ, तब त्यहाँ अनेरास्ववियुको ज्यादतीहरु देखेँ मैैले, त्यसको विरुद्ध ने.वि.संघमा लाग्नुपर्छ भनेर म २०५२ सालमा ने.वि.संघमा आबद्ध भएँ । त्यसपछि म लामो समयसम्म तरुण दलमा रहेर काम गरेँ । गत १४औं महाधिवेसनमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्दै काम गरिरहेको छु ।
३. आजसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेर तपाईले के पाउनुभयो ?
मलाई लाग्दैन कसैले प्राप्तिको लागि राजनीति गर्छ । राजनीति दिनको लागि गर्ने हो । राजनीति पेशा होइन सेवा हो । राजनीतिलाई ब्यापार बनाउने पनि नभएका होइनन् । तर अन्ततः ती पलायन भएर गएका छन् । त्यसैले मैले के पाए के पाइन गौढ कुरा हो । मैले कांग्रेसमा रहेर गरेको योगदान मेजर कुरा हो । त्यसकारण मैले के पाए वा पाइन भन्ने सोच व्याक्तिवादी सोच हो । मैले राजनितीमा लागेर कुनै पनि लाभको पद लिएको छैन् तर म खुशी छु ।
४. पार्टीबाट केही पाएनौँ भन्ने तपाईंको गुनासो त छैन् । आफूले पार्टीलाई केही दिएको प्रत्याभूति गराउन सक्नु भएको छ के ?
मैले पार्टीबाट केही पाइन भन्ने गुनासो कहिल्यै पनि गरिन । समय आउँदा नेपाली कांग्रेस पार्टीले आवश्यकता महशुस गर्छ भन्ने मलाई लाग्छ । पार्टीलाई के दिए भन्ने कुरा त आफैंले भन्न भन्दा पनि विगत ५१ सालदेखि निर्वाचनमा निरन्तर मेरो भुमिका पार्टीले बुझेकै छ । मेरो बखान मैले आफै कति गरु मेैले गरेको योगदान सबैलाई थाहा भएकै कुरा हो । मैले सधैभरी मेरो वडा, मेरो नगरपालिका, तत्कालीन गाबिस र साविकको निर्वाचन क्षेत्र नम्बर ३ र अहिलेको दुईमा पनि मेजर भुमिका छ । त्यसकारण मैले पार्टीलाई एउटा घर निर्माणमा केहि इट्टा थपेको छु भन्नेमा म बिश्वस्त छु ।
५. सरकारले आगामी मंसीर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन घोषणासंगै अहिले नेपाली कांग्रेसमा उम्मेदवारको चर्चा के कस्तो छ ? तपाई पनि कुनै पदको उम्मेदवार हुदै हुनुहुन्छ कि ?
चर्चा परिचर्चा विभिन्न महानुभावहरुको भएको पाइन्छ । पुराना साथीहरु, नयाँ साथीहरु, पार्टीमा लागेका साथीहरु, जिम्मेवार साथीहरु सबै किसिमका साथीहरुको चर्चा नचलेको होइन । त्यसमा मेरो पनि भेगले मिलेछ, क्षेत्रले मिलेछ, सबै हिसाबले मिलेछ भने र पार्टीले बिश्वास गरेर यत्तिको मान्छेलाई टिकट दिदा यसले निर्वाचन जित्छ भन्ने पार्टीलाई लागेछ भने प्रदेश सभामा स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ (ख) बाट मेरो उम्मेदवारीको तयारी हो ।
६. यहाँलाई प्रदेश सांसदको टिकट दिनुपर्ने खास कारण के होला ? यहाँले प्रदेश सांसदमा टिकट पाउनुभयो भने जित्ने आधार के छ ?
पुराना अग्रज नेताहरुलाई सम्मान छ । अब पनि पुराना नेताहरुलाई जनताले विश्वास गर्दैनन् कि भन्ने चिन्ता भएकाले कार्यशैलीमा परिवर्तन ल्याउनु जरुरी छ भन्ने लाग्छ । म पार्टीको मात्र नभएर स्याङ्जादेखि काठमाडौं सम्म समग्र यस क्षेत्रको र यहाँका जनताको नेता पनि हुँ । त्यसकारण, कांग्रेसलाई सही दिशा दिनुपर्छ र सही दिशा दिने कुरामा यहाँका आम नेपाली कांग्रेसको नेता, कार्यकर्ता र शुभेच्छेकहरुको साथ पाएँ भने म गर्न सक्छु भन्ने एउटा अठोट लिएर प्रदेश सांसदको उम्मेदवारको रुपमा अघि बढ्ने हिम्मत गरेको छु । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को (ख) मा मैले टिकट पाउने आधार भनेको निरन्तर पार्टीमा लागेको, हरेक निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेको, पार्टीको संगठन निर्माणमा उच्च भौतिक, नौतिक र आर्थिक हिसाबले योगदान गरेका कारण यो पटक पार्टीले मलाई बिश्वास गर्नेछ । सबै साथीहरुको सहमति भएछ भने मेरो उम्मेदवारी रहनु स्वाभाविक हो । जित्ने आधार के छन् भन्दा नेपाल बेरोजगारले जगडिएको छ । बेरोजगारीहरुको जमात धेरै छ । मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यहाँकालाई रोजगारी दिएको छु । धेरै मान्छेको घरमा दिप बालिदएको छु । धेरै मान्छेलाई जिविकोपार्जनको लागि, औषधोपचारको लागि, उनिहरुको हरेक समस्या समाधानको लागी, उनीहरुको दैनिकी जिबिकाको लागि हरेक ठाउँमा मेरो मेजर भुमिका छ । मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा गरेको छु । उनिहरुलाई रोजगारीको सिर्जना गरेको छु । उनिहरुलाइ विपन्नबाट सम्पन्न गराउनमा मेरो भूमिका छ । त्यसकारण ती म बाट लाभान्वित अथवा केही राहतको अनुभुती गरेका आम पब्लिकहरुको आवाजलाई सम्बोधन गर्नको लागि मैले उम्मेदवारी दिन खोजेको हो र तिनै आवाजहरुले मलाई जिताछ भन्ने प्रशस्त आधार छ ।
७. यहाँले सामाजिक काम पनि गर्नुभएको छ । के कस्ता सामाजिक कामहरु गर्नुभएको छ, समग्रमा जानकारी गराइदिनुहोस् न ।
राजनीति गर्ने मान्छेको काम नै समाजसेवा हो । हामीले जानेसम्म, सकेसम्म गर्ने सेवा नै हो । त्यसमा पनि विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा जुन कोभिड महामारी फैलियो, त्यसमा मैले अलिक बढी केन्द्रित भएर जिल्लाका जनताहरु, त्यस क्षेत्रका कार्यकर्ताहरुको सारो गारो अप्ठेरो जस्तै मास्क, सेनिटाइजर, खाद्यान्न, जनचेतना कार्यक्रम आदि उपलब्ध गराउन लागि परे । यस अवधिमा लगभग एकदिन पनि म घरमा बसेको छुइन । सधैँ सेवामा जुटिरहेकै छु । म त्यती ठूलो पोस्टमा कहिले पनि पुगिन । मैले राज्यको तर्फबाट गर्ने बिकासलाई त्यो ठाउँमा पु¥याउन सकिन किनकि म कहिल्यै त्यो ठाउँमा पुगिन । तर पनि ब्यक्तिगत रुपमा मैले त्यहाँका आमा समुहका भवन देखि सहिदका स्मारक बनाउने देखि हरेक खेलकुदमा प्रथम पुरस्कार प्रायोजन, बिद्यालयमा शैक्षिक समाग्री लगायत सहयोग गरेको छु । विपन्न परिवारका सदस्यहरुलाई मैले सक्ने औषधि उपचार देखि अप्रेसनका कुराहरुमा पनि मद्दत गरेको छु । हरेक मान्छेलाई परेका कानुनी अप्ठ्यारा अथवा कानुनी हिसाबले फसाइएका साथिभाइहरुलाइ त्यहाँका आम जनमानस जो काठमाडौमा आएर अप्ठ्यारोमा परेका छन् तिनीहरुलाई सहयोग गर्ने लगायतका काम गरेको छु । यो मैले भन्न भन्दा पनि आम जनताले जानेको कुरा हो ।
८. यहाँ युवा हुनुहुन्छ, राजनीति पनि गर्नुहुन्छ, अहिले युवाहरुमा गुनासो छ नि, राजनीतिमा ठाउँ पाइएन, अवसर पाइएन भन्ने जुन गुनासो छ नि, युवा नेता हुनुका नाताले त्यसमा के भन्नुहुन्छ ?
यो पनि अर्को महत्वपूर्ण कुरा उठाउनु भयो । एउटा कुरा के छ भने हामी आफूलाई युवा भन्छौँ, परिवर्तनको संवाहक भन्छौँ, तर हामी पनि कसैको आश्रित भएर हिँड्छौँ । हामी आफ्नो भिजन दिँदैनौँ । मैले आज प्रदेश सांसदको उम्मेदवारी दावी गर्दै गर्दा भोलि मेरो नेताले तँ बस् भन्दैमा म बस्दिनँ । म विगतदेखि त्यस क्षेत्रको प्रतिनिधि हुँ । त्यसकारण, युवा उमेरले मात्रै भएर हुँदैन, युवाजस्तो हुनुप¥यो । स्वाभिमान आफ्नो कायम राख्नुपयो । त्यसकारण के छ भने युवाहरुलाई अवसर नभएको होइन, तर युवाहरुले हिम्मत गर्नुप¥यो । जबसम्म तपाई हिम्मत गर्नुहुन्न, राजनीतिमा होस् कि अरु क्षेत्रमा, तपाईलाई कसैले नेता बनाइदिँदैन । तपाई आफू बन्ने हो, यसमा तपाई नै लाग्नु जरुरी छ । त्यसकारण यहाँ हामी नेताको पनि भर नपरौ । आफू नेता बन्ने अभियानमा कसैको भर नपरौँ । आफ्नो अभियान लिएर जाऔ अडिग भएर लाग्नुुस् । राजनीतिमा अडान मुख्य कुरा हो । तपाई धेरै सोचेर बोल्नुस्, बोलिसकेपछि अडान राख्नुस् । तर युवाहरुलाई राजनीतिमा वितृष्णा पनि आइरहेको छ । आज राजनीति यस्तै हो, यो फोहोरी खेल हो भन्ने पनि हुनुहुन्छ । यदि राजनीति फोहोरी खेल हो भने हामी युवा हौँ, स्वीमिङ कस्ट्युम लगाएर भए पनि त्यो फोहोर सफा गर्ने दायित्व हाम्रो हो । फोहोर छ भनेर हुँदैन नि । अँध्यारो छ भनेर चुप लागेर बस्ने र ! एउटा टुकी बालियो भने पनि त्यहाँ वरिपरि उज्यालो त हुन्छ । यसकारण युवाले नै हो परिवर्तन गर्ने । अग्रजहरुको अनुभव, साहस मिल्यो भने केही पनि असम्भव छैन । कुरा यस्तो छ । बिज्ञानले के भन्छ भन्दा बस्तुको उत्पत्ति पछि विकास र बिनास स्वयममा निर्भर हुन्छ । यो पद पाउने भनेको उसको आफै गुण र दोषको कारणले हो । स्वभाविक हिसाबले क्षमतावान मान्छेहरु सबैले पाएका छन् । युवा भनेर भएन राजनीतिमा बिज्ञ पनि हुन प¥यो । कम्तीमा कांग्रेसको राजनीति गरेको कांग्रेसको समाजवाद बुझेको हुनुप¥यो । नेपाली कांग्रेसको स्थापना काल देखि अहिलेसम्मको भुमिकाको बारेमा पनि जान्न प¥यो । देशको परिस्थितिको बारेमा, कुन कालखण्डमा कुन राजनीतिक पार्टीको कुन योगदान थियो भन्ने बुझेको हुनुप¥यो । त्यसकारण म युवाले अवसर पाएनन् होइन कि एउटा व्याक्तिले उसको गुण र दोषको आधारमा अवसर पाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।
९.कतिपयले राजनीतिलाई व्यवसाय बनाएका छन्, तपाई चाहिँ गोजीको पैसा खर्च गरेर राजनीति गर्नुहुन्छ । किन यसो गर्नुभएको हो ?
व्यापारीले लगानी गर्छ, त्यसबाट लाभ लिने उसको धर्म पनि हो । तर म व्यापारी होइन, म मेरो मनले गर्छु, मैले सकेको गर्छु । यसबाट मलाई सन्तुष्टि मिल्छ र सन्तुष्टि लिइरहकै छु । अब जसले जे सक्छ त्यसले त्यहि नै गर्ने हो । म अहिले राज्यको आधिकारिक ओहोदामा कहि कतै छैन्, राज्यबाट दिलाउनको लागि म सक्दिन । म एउटा सामान्य व्याक्ति हु म कहिकतै कसैलाई गुहार्न गएको छैन । राजनीतिलाई ब्यबसाय गर्ने त मुर्ख हो भन्छु । यो सेवा हो । यो राजनीति त कस्तो हुनुप¥यो भन्दा म राजनितीज्ञ हुन्छु भनेपछि म जनताको नोकर हो । जनताले अराएको मान्ने हो । जनताको सेवाको लागि २४ सै घन्टा मेरो डिउटी भन्ने बुझ्नपर्छ । त्यस कारणले मैले राजनीतिलाई पेशा मान्ने त परिकल्पना पनि गरेको छैन । यस्तो कहि कतै नभएका होइनन् राजनीतिलाई ब्यबसाय बनाएर आफ्नो जिबन उठाएका धेरै उदाहरणहरु छन् । तथापि अब आयो ब्यक्तिगत लगानी किन गर्नुहुन्छ भन्दा समाज सुधारको परिप्रेक्ष्यमा मेरो आफ्नो किसिमको जिन्दगी सेटलमेन्ट भैसके पछाडी रहेका कुराहरु सबैभन्दा ठूलो के हो भन्दा शान्ति हो । के गर्दा शान्ति मिल्छ मन आनन्दित हुन्छ भन्ने हिसाबले मैले आफ्नो ब्यक्तिगत हिसाबले मैले गोजिका पैसा कहिकतै खर्च गरे धेरै ठाउँमा खर्च गरे होला । त्यसको लागी मैले ठूलो गुमाए भन्ने छैन । यसमा मेरो सहयोग गर्न मन लाग्यो । मैले सक्ने ठाउँबाट घर निर्माणमा एउटा इट्टा थपेको हो । त्यत्रो बढी लगानी गरेजस्तो पनि लाग्दैन तपाईंले भन्दिनुभयो त्यसको लागि धन्यवाद ।
१०. अन्त्यमा पब्लिक आवाज पत्रिका र अनलाईन मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
यो मिडिया मार्फत म के भन्न चाहन्छु भने केही साथीहरु जोड जोडले चिच्याएर कसैको नैतिकता, इमान्दारिता माथि प्रश्न उठाउने काम गर्दै हुनुहुन्छ । आफूले आफूलाई मसिहा ठान्नुहुन्छ, म उहाँहरुलाई यति भन्न चाहन्छु, सत्य चिच्याउनु पर्दैन । सत्य आफै सत्य हुन्छ, प्रमाणित गर्नु पनि पर्दैन, म त्यो गर्न पनि चाहन्न र तपाईहरु नेता बन्न चाहनुहुन्छ भने आफ्नो कार्यक्रम लिएर जानुस्, आफ्नो भिजन लिएर जानुस्, जनताको मन जित्नुस्, तपाई स्वतः नेता बन्नुहुन्छ । कसैको विरोध गरेर नेता बन्ने सपना देख्नुभएको छ भने त्यो बन्द गर्नुस् र कसैको नैतिकता माथि प्रश्न उठाउने काम बन्द गर्नुस् । सत्य चिच्याउनु पर्दैन । अब चुनाव आएपछि राजनीतिको नै कुरा गर्नप¥यो । सबैभन्दा पहिले हामीले इतिहास समिक्षा गरौ । तत्कालीन समयमा दरबारकाले पढ्ने दरबार हाइस्कुल थियो । आम जनताले पढ्ने स्कुल पनि थिएन । नेपाली कांग्रेसकै नेतृत्वमा नेपालमा आदर्श बिद्या गृह खुल्यो । आज पनि देशभर स्कुलहरु स्थापना भैइरहेका छन् । मलाई लाग्छ कम्युनिस्ट भनेर लेख्न सिकेको पनि त्यही आदर्श बिद्या गृह स्कुलको कारणले हो । नेपाली कांग्रेसले राष्ट्रियताको सवालमा धेरै काम गरेको इतिहास साक्षी छ । नेपालमा जति पनि परिवर्तन भएका छन् ति सबै नेपाली कांग्रेसको नेतृत्वमा भएका छन् । पछिल्लो उदाहरण संविधान लेखनलाई पनि हेर्न सकिन्छ । त्यसैले नेपालको परिवर्तनको लागि नेपाललाई बिकासको गतिमा अगाडि बढाउनको लागि नेपाली कांग्रेसको आवश्यकता छ । त्यसैले अब मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा विवेक पु¥याएर मतदान गरौं भन्न चाहन्छु । अन्त्यमा यहाँको मिडिया मार्फत आफ्नो कुरा राख्ने मौका दिनुभयो । यहाँलाई तथा यहाँहरुको मिडिया टिमलाई पनि धन्यवाद ।
प्रतिक्रिया