३४ सय घरमा ‘एक घर एक धारा’
स्याङ्जा ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाका ३४ सय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाको वडा नं. १ देखि ७ सम्मका बासिन्दालाई धारा वितरण गरिएको हो । वडा नं. ५ को सबै घरहरुमा एक घर एक धारा रहेका छन् । विगत ५ बर्षदेखि निरन्तरको प्रयास स्वरुप ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका करिब १५ हजार बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् ।
वडा नं ४ का वडाध्यक्ष यादव प्रसाद पाण्डेले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि संघ, प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताए । विगतमा सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उनले बताए ।
गाउँपालिकाले गण्डकी प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै ३४ सय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले हालसम्म विभिन्न ३० वटा साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ वटा लिफ्टिङ योजना र १८ वटा ग्राभिटी योजना रहेको उनले जानकारी दिए । यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन् । नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्यँुमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो ।
“बदलिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पु¥याउन सकिएको छ”, उनले भने, “जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ ।” पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका यहाँका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो । गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा १५ करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको उनले बताए । घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित छन् ।
प्रतिक्रिया