नगर प्रमुख भट्टराईले भने– ‘साथ दिनुहोस उज्यालो नगर बनाउछु’
गल्याङ ।
गल्याङ्लाई समृद्ध नगर बनाउन नगरपालिकाले नगरभित्रका विविध पक्षहरुमा सरोकारवालाहरुसँग छलफल गरेको छ । गल्याङ नगर क्षेत्र भित्र खानेपानी सरसफाई, फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन र समग्र बजार व्यवस्थापनका बिषयमा नगरपालिकाले सरोकारवालाहरु सगँ अन्तरक्रिया गरेको हो । गल्याङ्को समृद्धिका लागि नगरभित्र रहेका सामाजिक संघसंस्था, राजनीतिकदल, उद्योगी व्यवसायी, नागरिक अगुवा लगायत सामाजिक व्याक्तिहरु सगँ नगर प्रमुख गुरुप्रसाद भट्टराईले सुझाव, राय र चुनौतीका बिषयमा छलफल गरेका हुन् ।
कार्यक्रमको सम्बोधन गर्दै गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ् नगरलाई के कसरी समृद्व नगर बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । सबै राजनीतिक दल, संघ संस्था र सरोकारवाला निकाएको राय सल्लाह लिएर आफु अगाडी बढ्ने योजनाका साथै सबैको साथ सहयोग र सकरात्मक भावना अनुरुप बाट मात्रै विकास सम्भव हुने नगर प्रमुख भट्टराईले बताए ।
नगर प्रमुख भट्टराई छलफल र अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले गरेका जिज्ञासाको सन्दर्भमा सम्बोधन गर्दै स्थानीय साधन स्रोतको सहि रुपमा परिचालन गर्दै नगरको विकासका लागि प्रदेश र संघसंग समन्वय गरेर विकास प्रक्रियालाई अगाडि बढाउने बताए । त्यसका लागि सबैको साथ दिनुहोस नगरलाई उज्यालो बनाउने छु उनले भने । गल्याङ्का विकास गर्दा सबैको साथ र सहयोग लिएर गर्ने विश्वास दिलाए ।
कार्यक्रममा गुठी संस्थानका अध्यक्ष पुण्य भूषाल, गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली काँग्रेस पार्टी प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेकपा एमाले पार्टी प्रतिनिधि दान बहादुर थापा, नेकपा माओवादी पार्टी प्रतिनिधि चित्र बहादुर राना, गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल,गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, गल्याङ ट्राफिक प्रहरी कार्यालय प्रमुख कुमार शर्मा लगायतले गल्याङ नगरपालिका भित्रका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए ।
कार्यक्रममा फोहोरमैला व्यवस्थापनको सम्बन्धमा शिब गाहा, पदम अर्याल, गल्याङ् नगरपालिकाका इन्जिनियर प्रज्वल गिरीले विकास निर्माणको सन्दर्भमा जानकारी गराएका थिए । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपप्रमुख हेमा न्यौपानेले र कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्यले गरेका थिए ।
प्रतिक्रिया