प्रदेश सांसदको उम्मेदवारमा काँग्रेसबाट ८ आकांक्षी

वालिङ ।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचनका लागि आठ जनाले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (क) को आईतबार बसेको बैठकमा प्रदेश सभा निर्वाचन २ (क) बाट प्रत्यक्ष तर्फ महाधिवेशन प्रतिनिधि अर्जुनप्रकाश अर्याल, जिल्ला सचिव दामोदर लम्साल, जिल्ला उपसभापति केदार काफ्ले, महाधिवेशन प्रतिनिधि छायाराम खनाल, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, प्रदेश सभापति अर्जुनप्रसाद खनाल र यूवा नेता टंकप्रसाद गैह्रेले आफ्नो उम्मेदवारी दावी गरेका छन् ।

त्यसैगरी उक्त प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिक तर्फ एघार जनाले आफ्नो उम्मेदवारी दाबी गरेका छन् । समानुपातिक तर्फ तिल बहादुर रनपाल, बसन्त कुमार विक, लोकनाथ अर्याल, यादव कुमार श्रेष्ठ, कमल भित्रिकोटी, दिपक रोकाहा, कुल बहादुर गुरुङ, एसवि खड्का (सुनिल), केशभक्त गुरुङ, राजकुमार गुरुङ र श्याम प्रसाद अर्याललेको दावी रहेको छ । प्रदेश सभाका लागि दाबी गर्ने सबै जनालाई एकै ठाउँमा राखेर सहमतिको प्रयास गर्ने र सहमति नभएमा विधान अनुसार अगाडि बढ्ने स्याङ्जा क्षेत्र नं २ (क) का सभापति अर्जुनप्रसाद खनालले बताए ।
यता नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (ख) बाट पनि प्रदेश सभा सदस्य निर्वाचनका लागि आठ जनाले दाबी गरेका छन् । स्रोतका अनुसारका आईतबार बसेको प्रदेश सभा निर्वाचन २ (ख) को कार्यसमिति बैठकमा प्रत्यक्षतर्फ क्षेत्रीय सभापतिसहित चापाकोट र गल्याङ नगरपालिकाबाट ३÷३ जना र कालीगण्डकी गाउँपालिकाबाट २ जनाले दावी गरेका छन् । त्यसैगरी समानुपातिक तर्फ पनि आठ जनाले दाबी गरेको स्रोतले बताएको छ । प्रत्यक्ष र समानुपातिक तर्फ आंकाक्षी सबैको नाम माइन्युट गरेपछि मात्रै सार्वजनिक गर्ने समितिले जनाएको छ । सोमबार बैठक बसी विधान अनुसार प्रत्यक्ष र समानुपातिकमा दाबी गर्नेको नाम सिफारिस गर्ने तयारी भइरहेको स्याङ्जा क्षेत्र नं २ (ख) का सभापति महेश भट्टराईले बताए।

प्रतिक्रिया