जनप्रतिनिधिको सामाजिक उत्तरदायित्व कोष

स्याङ्जा ।
खियाँ लागेको टिनले बनेको घर, घरको बलेनीमा तीवटा पानी भरिएको गाग्री, आँगनमा झारै झार र काक्राको झाल अनि घरमा ८० बर्षिय बृद्ध एकल महिला । सबैलाई लाग्छ बलेनीको पानी समस्या परे घरमा रहेका पशुलाई खुवाउन र कपडा धुनको लागि प्रयोग गरीन्छ, तर यहाँको अर्जुनचौपारी ५ काउरेकी पुर्णकला पौडेलले विगत सात बर्षबाट बलेनीको पानी खानको लागि प्रयोग गरेकी छन् ।
तीन छोरीको बिवाह र श्रीमानको निधन भएपछि विगत १२ बर्षबाट एक्लै घरमा बस्दै आएकी बृद्ध पौडेलले असक्त भएपछि सात बर्षबाट बलेनीको पानी खाएर निर्वाह गरेकी हुन् । गाउँमा धेरैको घरमा पानीको धारा जडान हुदाँ बृद्ध आमा पौडेलको घरमा पानिको धारा थिएन् । त्यसैले बृद्ध एकल महिला पौडेलले छिमेकीको घरमा पुगेर पानी ल्याउन नसकेपछि बलेनीको पानी खाने गरेकी थिईन् ।
बृद्ध एकल महिलाले बर्षातमा बलेनी र हिउदँमा छिमेकीको भरमा पानी खाएको सुनेपछी अर्जुनचौपारी गाउँपालिकाले चासो लिदै सहयोग गरेको छ । जनप्रतिनिधिको सुबिधाको १० प्रतिशतबाट स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट पौडेललाई पालिकाले १६ एमएमको प्लाष्टिक पाइपबाट खानेपानीको धारा जडान गर्नुका साथै चिनी, दाल, साबुन, नुन प्रदान गरेको हो ।
पालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङले बृद्ध एकल महिलाको घरमा पुगेर खानेपानीको धारा जडान गरिदिएका छन् । एक्लै घरमा बस्दै आएकी बृद्ध पौडेलले खानेपानीको लागि धेरै दुख भोगेको र बर्षातमा बलेनीको पानी र हिउँदमा गाउँलेको सहयोगमा पानी खाएको बताईन् ।
पानीको धारा घरबाट पाचँ मिनेट टाढा भएपनि असक्तताका कारण पानी खान कि त छिमेकी कि त आकासको पानी कुर्नु परेको बताउदै पौडेलले घरको आँगनमा पानीको धारा झरेसगै हर्षका आशु झरालिन् । दुई छोराको जन्मेपछि मृत्यु भएको बताउदै बृद्ध पौडेलले पालिका छोरा भएर जन्मेको बताईन् । छोरीले पटक पटक आफ्नोमा बस्न आग्रह गर्दा पनि आफ्नै घरमा मर्ने बाचाँ सहित घरमै बस्दै आएकी बृद्ध पौडेललाई आवश्यकता अनुसारको सहयोग पालिकाले गर्ने पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
जनप्रतिनिधीबाट १० प्रतिशत कट्टा गरी बृद्ध तथा पुर्ण अपाङलाई सहयोग गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व कोष बनाएको बताउदै तिवारीले साहाराबिहिनको साहारा पालिका बन्ने बताए । साहाराको खोजीमा रहेका हरेक अशक्त, बृद्ध र पुर्ण अपाङलाई पालिकाको ढोका खुल्ला रहेको तिवारीले बताए । जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छुट्टाएको सामाजिक उत्तरदायित्व कोषबाट सहयोग गरेको देशमै पहिलो पालिका भएको तिवारीले दाबी गरे ।

प्रतिक्रिया