‘संमृद्ध हरिनास सुखी हरिनासबासी’ भन्ने मुल नीति अनुसार काम गरेका छौं ।

पर्शुराम उपाध्याय,
प्रमुख प्रशासकीय अधिकृत,
हरिनास गाउँपालिका, स्याङ्जा ।

संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा स्थानीय तह आफैंमा एउटा सरकार हो । मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हुन् भने प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन । एउटा मन्त्रालयको मुख्य सचिवको भुमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भुमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौ । सरकार प्रमुखको काम नीति, नियम, कानून र कार्यविधि बनाउने तथा मुख्य सचिवको काम त्यस्ता नीति, नियमको प्रमाणिकरण गरी कार्यान्वयनमा ल्याउने र ल्याउन लगाउने प्रमुख दायित्व र जिम्मेवारी भित्र पर्न आउँछ । त्यती मात्र नभइ प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यालय प्रमुख पनि हो । स्थानीय तहमा सरकारको नीति नियम भित्र रहेर कामकाज भएको छ वा छैन भनि मुल्यांकन गर्ने, नियमन तथा अनुगमन गर्ने गराउने र कानून विपरित कार्य गरेको वा गराइएको पाइएमा दण्ड सजायको भागिदार बनाउने कुरा सरकार प्रमुखको दायित्व भित्र पर्छ । यी सबै असल अभ्यासहरु हाम्रा कतिपय स्थानीय तहहरुमा भएका होलान् तर अधिकांश स्थानीय तहहरु यस्ता अभ्यासबाट टाढै रहेको पाउन सकिन्छ । तीन तहको सरकारले दिएको कानूनको दायरा भित्र रहेर कामकाज गर्ने गराउने सम्पूर्ण दायित्व तथा जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको काँधमा रहेको हुन्छ । कानूनी र कागजीरुपमा हरेक कामको कार्यान्वयनको पाटोमा प्रमुख प्रशासकीय अधिकृतको निर्णायक भूमिका हुन्छ । कानून विपरित तल माथि भयो भने त्यसको सम्पूर्ण दोषको भागदारी प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । यसै सन्दर्भमा स्याङ्जाको हरिनास गाउँपालिकाको अवस्था, स्थानीय शासन, संघीयता कार्यान्वयन प्रक्रियालगायतका विभिन्न बिषयमा केन्द्रीत रहेर पब्लिक आवाजका लागी उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसँग सम्पादक अमृत अर्यालले गरेको कुराकानीः

१. हाकिम साब आराम हुनुहुन्छ ? हरिनास गाउँपालिकाको वर्तमान अवस्था कस्तो छ ?

धन्यवाद, नमस्कार । हजुर आरामै छु । हरिनास गाउँपालिकामा भर्खरै आ.व. २०७८÷७९ का योजनाहरु सम्पन्न भए । २०७९÷८० को बजेट स्विकृतिसँगै उक्त योजना तथा कार्यक्रमको संचालनको लागि उपभोक्ता समिति गठन, बोलपत्र आव्हान सम्बन्धी कामकाजहरुको साथै कागजात तयारीको काम हुँदैछ ।

२.तपाई प्रमुख प्रशासकीय अधिकृत भएर कार्यभार सम्हालेपछि शिक्षा, स्वास्थ्य क्षेत्रमा थप उपलब्धि भएको छ ?

अवश्य भएको छ । शिक्षा क्षेत्रमा निम्नानुशारको थप उपलब्धि भएको छ । श्री महिमा माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको पठनपाठन शुरु भएको छ । धेरै विद्यालयहरुमा भैतिक संरचनाको निर्माण गरिएको छ । विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान तथा अस्थायी शिक्षक पदपूर्ति मार्फत विद्यालयको पठनपाठनलाई प्रभावकारी एंव गुणस्तरिय बनाउने कोशिस गरिएको छ । विभिन्न विद्यालयमा शौचालय, स्वच्छ खानेपानी लगायत अन्य पूर्वाधारको व्यवस्था गरिएको छ । समयसमयमा विद्यालय अनुगमन गरि आवश्यक निर्देशन दिइएको छ । यसैगरि स्वास्थ्यतर्फ निम्नानुशारको थप उपलब्धि भएको छ । हरिनास गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा बिद्यमान ३ वटा स्वास्थ्य चौकी (मग्याम चिसापानी, चित्रे भन्ज्यांग र क्याक्मी स्वास्थ्य चौकीमा) मा आधारभुत स्वास्थ्य प्रयोगशालाको स्थापना गरि सेवा प्रबाह गरिएको छ । जसले आम समुदायमा सामान्य किसिमका स्वास्थ्य सेवा उपभोगको लागि शहर बजार नै पुग्नुपर्ने बाध्यतामा कमि आएको छ । कोभिड १९ को महामारीलाई परास्त गर्नको लागि खोप अभियानलाई सहजताको साथ संचालन गर्न स्वास्थ्य सेवा विभागको सहकार्यमा मग्याम चिसापानी स्वास्थ्य चौकीमा भ्याक्सिन राख्न मिल्ने गरि फ्रिजको व्यवस्थापन गरिएको छ । सो फ्रिजको पावर सप्लाईमा निरन्तरताको लागि गाउँपालिकाले सोलार व्याकअपको व्यवस्थापन गरेको छ र आगामी दिनमा अरु स्वास्थ्य संस्थामा पनि यस कार्यलाई निरन्तरता प्रदान गरि थप सेवा बिस्तार हुनेछ । गाउँपालिकामा एउटा पनि अस्पताल नरहेको र नेपाल सरकारको नीति अनुरुप मग्याम चिसापानी स्वास्थ्य चौकीमा १५ शैयाको आधारभुत अस्पताल भवन निर्माणको लागि सम्पूर्ण प्रक्रिया पुरा भइ भवन निर्माणाधीन अवस्थामा रहेको छ । हरिनास गाउँपालिका वडा नं.७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण अन्तिम चरणमा रहेको छ । पिछडीएको बस्ती हरिनास गाउँपालिकाको वडा ४ र ७ लाई लक्षित गरि कुलिंनखोलामा आधारभुत स्वास्थ्य सेवा प्रवाहको लागि सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरि स्वास्थ्य सेवा प्रदान गरिदै आईएको छ । जसले पहुँचको कमि रहेको टोल तथा समुदायमा आधारभुत स्वास्थ्य सेवाको उपभोगमा बृद्धी भइ स्वस्थ्यकर जीवनयापनमा सहयोग पुग्नेछ । गाउँपालिकाले चालु आव देखि अति विपन्न परिवार पहिचान भएका घर परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्य सेवाको उपयोगलाई सहज र पहुँचयोग्य बनाउने कार्यक्रम संचालनमा ल्याइदैछ । सुत्केरीसंग उपाध्यक्ष पोषण कार्यक्रमसम्बन्धी कार्यविधि तयार पारि सो मार्फत संस्थागत सुत्केरी तथा आमा सुरक्षा कार्यक्रमलाई प्रबर्धन गर्न पालिकाले यातायात खर्च स्वरूप २ हजार र तोकिए बमोजिमको ४ भेट पुरा गरेमा थप ८ सय गरि जम्मा २ हजार ८ सय प्रति सुत्केरी आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा ध्यान दिनेगरी सुत्केरीसंग उपाध्यक्ष पोषण कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य संस्थाको संस्थागत सुधारको लागि म स्वस्थ, मेरो गाउँपालिका स्वस्थ कार्यक्रम मार्फत आवश्यक अन्य कार्यक्रम संचालनको लागि व्यवस्था मिलाइएको छ । अति विपन्न नागरिकको लागि औषधी उपचारमा केही मात्रामा भए पनि सहायता उपलब्ध गराउने उद्देश्यले आर्थिक सहायता सम्बन्धी कार्यबिधि मार्फत रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

३.अहिले गाउँपालिकाको केही नीति पनि परिमार्जन गर्नुभएको छ र ?

संमृद्ध हरिनास सुखी हरिनासबासी भन्ने मुल नीति परिमार्जन गरिएको छैन, तर जनताहरुको स्तरोन्नति, गरिवि निवाण, विकास र बजेटमा मूलप्रवाहिकरण गर्न तथा जीवन यापन सहज बनाउन ऐन, कार्यविधि र नीति तर्जुमा गरी गाउँसभाको स्विकृति पश्चात कार्यान्वयनमा लगिएको छ ।

४. कृषक लाभान्वित योजना पनि गाउँपालिकासँग छ ?

हरिनास गाउँपालिकामा कृषि तथा पशुपंक्षीका क्षेत्रमा विगत देखि नै विभिन्न कृषक लक्षित कार्यक्रमहरु संचालनमा छन् । कुनै न कुनै कार्यक्रमका माध्यमबाट सम्पूर्ण कृषकहरुलाई समेट्ने गरी यस पालिकामा कार्यक्रम संचालन भएका छन् । यस हरिनास गाउँपालिकामा तपशिल बमोजिमका कृषक लाभान्वित कार्यक्रमहरु संचालनमा रहेका छन् । सुन्तला, तरकारी, बाख्रा पालन पकेट विकास कार्यक्रम, सुन्तला, कागती फलफुल दशक विरुवा रोपण कार्यक्रम, तरकारी, फलफूल विरुवा उत्पादन मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम, वेमौसमी तरकारी खेतीका लागि निःशुल्क प्लाष्टिक टनेल वितरण, कृषिको स्तरोन्नति र पशुपालन विस्तारका लागि ८५% कृषि तथा पशुपालन अनुदान, बाख्रा प्रवर्धन र वंगुर प्रवर्धन अन्तर्गत मासु मिसन कार्यक्रम, पशुपंक्षीका लागि निःशूल्क औषधी वितरण, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ साझेदारी फलफूल विकास कार्यक्रम संचालन गरिएको छ । मकै, तरकारी तथा धानको आवश्यक विउ निःशुल्क वितरण गरिएको छ ।

५. दलित र पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि गाउँपालिकाले के गदैछ ?

हरिनास गाउँपालिका भुगोलको हिसाबले स्याङ्जा जिल्लाकै पिछडिएको क्षेत्रमा पर्छ । त्यस माथि पनि यहाँ शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था दयनिय छ । शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउन दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने, छात्रवृत्तिको व्यवस्था, खानेपानी, शौचालयको राम्रो व्यवस्था तथा उनीहरुको अभिभावकलाई रोजगारी सिर्जना तथा स्वआर्जन तर्फ अभिप्रेरित गर्ने र शिक्षण पद्धतिमा बैज्ञानिकिकारण, आधुनिकिकरण गर्दै प्रभावकारिता अभिवृद्धि गरिएको छ । स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउने, स्वास्थ्य चौकी नपुगेको वडामा गाउँघर क्लिनिकको स्थापना, पर्याप्त औषधी, जनशक्ति मार्फत गुणस्तरिय स्वास्थ्य सेवाको उपलब्धता, अति विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य विमा, सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम, म स्वस्थ, मेरो गाउँपालिका स्वस्थ कार्यक्रम संचालन गरिएको छ । स्थानीय रोजगारी सिर्जना र गरीबी निवारणको लागि बजेट कार्यक्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रम, सशक्तिकरण र सामाजिक परिचालन, स्थानीय श्रोत साधन परिचालन हुने तथा स्थानीय रोजगारी सिर्जना हुने तथा सिप विकास खालको कार्यक्रम छनोट गरिएको छ । गरीवी निवारणको लागि लघुउद्यम विकास कार्यक्रमलाई प्रभावकारी बनाई नयाँ उद्यमी सिर्जना तथा पुराना उद्यमीको क्षमता स्तरवृद्धि गर्ने कार्य गरिएको छ ।

६. गाउँपालिकामा भएका बेरोजगार युवा तथा महिलाको लागि पनि थप योजना छन् ?

बेरोजगार युवाको लागि कृषिको आधुनिकिकरण, व्यवसायिकिकरण र विविधिकरण गर्दै उनिहरुलाई त्यसतर्फ लाग्न प्ररित गरिएको छ । संघ, प्रदेश र विभिन्न संघसंस्थासँग समन्वय तथा गाउँपालिकाको सहकार्यमा विभिन्न सिपमूलक तालिम तथा व्यवसायिक शिक्षाको विस्तारमा जोड दिइएको छ । महिला सशक्तिकरण, महिलामाथि हुने सबै रुपका विभेद तथा हिंसाहरुको अन्त्य गर्ने, महिलाहरुलाई स्वरोजगारी र आत्मनिर्भर बनाउने तथा गाउँपालिकाका योजना र कार्यक्रममा उनीहरुको सरल र सहज पहुँच बनाउने कार्यहरु गरिएको छ ।

७. सडकको अवस्था अझै दयनीय छ, भनी नागरिकहरु भन्छन नि ?

पक्कै पनि भौगोलिक विकटता, कच्ची बाटो भिरालो भू—बनावटले गर्दा हाम्रो गाउँपालिका जस्तै नेपाल भरिनै बर्षा याममा सडकको अवस्था दयनिय छ, तर पनि हाम्रो गाउँपालिकामा मिर्दि भिमाद सडकले झण्डै २÷३ कि.मि बाहेक भिमादबाट पक्की सडकले छोएको छ । भिमाद भानुमति रोदिखोला पक्की सडक, दग्दी बडहरभञ्याङ किँहु हुँदै जाने पक्की सडक निर्माण भइरहेको तथा गाउँपालिकाले आफ्नै बजेटमा बाटो ढलान, स्तरोन्नती तथा नँया ट्रयाक खोली सडकको अवस्थामा सुधार गरेको छ । प्रत्येक वडालाई वडा सरसफाई अन्तगर्त आवश्यक बजेट उपलब्ध गराई बाह्रै महिना सडक संचालन गर्ने व्यवस्था गरिएको छ ।

८. गाउँपालिकाले कुन योजनालाई मुख्य प्राथमिकतामा राखेर गाउँसभा सम्पन्न गरेको हो ?

बजेट बनाउँदा आर्थिक विकास तथा गरीवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक छिटो प्रतिफल दिने, जिवनस्तर सुधार, आम्दानी र रोजगारीमा वृद्धि हुने, स्थानीय श्रोत साधन र सिपको परिचालन हुने, महिला बालबालिका, दलित, वृद्धावृद्ध उन्मूख, लैंगिक समानता, सामाजिक समावेशीता अभिवृद्धि हुने, दिगो विकास, वातावरण संरक्षण, भाषा संस्कृतिको जगेर्ना हुने योजनालाई प्राथमिकता दिइएको छ ।

९. यो आर्थिक बर्षको बजेट कस्तो बनेको छ ?

विगतका बर्षमा जस्तै यो बर्षको बजेट पनि वडा स्तरमा जनतासँग प्रत्यक्ष भेटघाट गरी उनिहरुका माग, आवश्यकता तथा गाउँपालिकाको प्राथमिकताका आधारमा गाउँसभामा व्यापक छलफल पछि आएकोले यस बजेटले स्थानिय आवश्यकता परिपूर्ति, माग सम्बोधन, दीगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने खालको बनेको महसुस गरेको छु ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

नागरिकहरु माझ अत्यन्तै लोकप्रिय बनेको पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई म के भन्न चाहन्छु भने देशमा संघिय लोकतान्त्रिक प्रणालीसँगै तिन तहको सरकार बनेको छ । स्थानीय जनताहरुको प्रत्यक्ष समस्याहरुको सामाधान गर्न हामी कर्मचारी नागरिकप्रति जवाफदेही र जिम्मेवार बनेका छौ । नागरिकहरुलाई हाम्रो विकास निमार्णमा संलग्न हुन रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया मार्फत सहभागी भै सहि मार्गनिर्देश गर्न र सम्पुर्ण क्रियाकलापमा हातोमालो गर्न आग्रह गर्दछु ।

 

 

प्रतिक्रिया