नागरिकमैत्री बनेर सेवा प्रवाह गरौं— प्रजिअ पौडेल
स्याङ्जा ।
विकास, समृद्धि र सुशासन भन्ने मुल नाराको साथ १९ औं निजामती सेवा दिवस २०७९ समारोह पुतलीबजारमा रहेको सिटीहलमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले कर्मचारीलाई काम गर्न मिल्ने मात्रै काम गर्न निर्देशन दिए । प्रजिअ पौडेलले व्यक्तिगत लोभका कारण कर्मचारी क्षेत्रमा आँच आउने कुनै पनि काम नगर्न सुझाउदै उनले कागजपत्र मिलेका सेवाग्राहीको काम छिटो गरिदिनुपर्ने बताए । उनले जिल्लामा निजामती कर्मचारीको पहिलो एतिहासिक कार्यक्रम भएको बताउदै यसले कर्मचारीमा थप काम गर्ने उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष अमर बहादुर पराजुली, निजामती कर्मचारी युनिय स्याङजाका अध्यक्ष ज्ञानप्रसाद अर्याल र राष्ट्रिय कर्मचारी संगठन (निजामती) स्याङजाका अध्यक्ष गुरुदत्त ढकाल लगायतले निजामती सेवा दिवसको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीका अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्र स्याङजाका सचिव माधव प्रसाद लम्सालले गरेका थिए भने स्वागत मन्तव्य आधिकारी ट्रेड युनियन स्याङजाका अध्यक्ष राजु मरासिनीले राखेका थिए ।
कार्यक्रमको पूर्व सध्न्यामा भएको भलिवल र व्याडमेन्टीन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । भलिवल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय स्याङजा प्रथम र समरजित गुल्म आँधिखोला व्यारेक दोस्रो भएको थियो । त्यसैगरी पुरुष व्याटमेन्टीनमा राष्ट्रिय अनुसन्धानको टिम प्रथम र कोलेनिकाको टिम दोस्रो भएको थियो भने महिला व्याटमेन्टिनमा कारागारको टिम प्रथम र नेपाल विद्यृत प्राधिकरण स्याङजा शाखाको सटि दोस्रो भएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । रक्तदानको व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै रेडक्रसका सभापति दिनेश अर्याललाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया