राप्रपा अध्यक्ष लिङदेन स्याङ्जा आउने
स्याङ्जा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देन स्याङ्जा आउने भएका छन् । राप्रपा स्याङ्जाले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय अध्यक्ष लिङ्देन स्याङ्जा आउने जानकारी दिएको हो । भदौ २९ गते जिल्ला स्तरीय आमसभालाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष लिङ्देन आउने भएपछि यसको तयारी र आगामी निर्वाचनका लागि उम्मेदवारी सिफारीस सम्वन्धमा राप्रपा स्याङ्जाले पत्रकार सम्मेलन गरेको थियो । जनतालाई देशको वर्तमान राजनैतिक अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोण तथा भावी रणनीतिको बारेमा प्रष्ट्याउन अध्यक्ष स्याङ्जा आउने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङ्ले जानकारी दिए ।
पत्रकार सम्मेलनमा गुरुङ्ले देशमा देखिएको अनियमितता, विशंगतिलाई अन्त्य गर्न देशको बढ्दो भष्ट्रचारलाई निर्मुल गर्न र हालको संविधानलाई राप्रपाले आलोचनात्मक समर्थन जनाउदै हरेक चुनावी अभियानमा संलग्न हुदै आएको उनले बताए । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पनि राप्रपा सहभागी हुदै सो निर्वाचनका लागि एकदर्जन नेताहरुले उम्मेदवारका लागि चासो देखाएको गुरुङ्ले बताए । आगामी निर्वाचनमा नेकपा एमालेसगँ तालमेल हुनसक्ने संकेत गुरुङ्ले गरे । आवश्यकता अनुसार तालमेल हुन सक्छ गुरुङ्ले भने,‘गणितीय खेलमा लागेको गठबन्धनलाई हराउन एमाले सगँको तालमेलले सघाउ पुग्नेछ ।’ स्याङ्जामा कसरी तालमेल हुन्छ भन्ने बिषयमा छलफल जारी रहेको छ उनले भने ।
जनतालाई भ्रमित बनाउने जनताको दैनिक सरोकार, सामाजिक सुरक्षा जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका बिषयमा सरकार मात्रै नभएर ठुलादलहरु जिम्मेवार नभएको आरोप गुरुङ्ले लगाए । राप्रपा नेपालमा बौद्धिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा रहेको बताउदै प्रदेश अध्यक्ष गुरुङ्ले हिन्दुराष्ट्र नेपाल पक्षधरहरुलाई राप्रपामा जोडिन अपिल गरे । पत्रकार सम्मेलनमा पुर्व मन्त्री तथा केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ्ले नेपाल देशलाई जोगाउने राष्ट्रवादी पार्टी राप्रपा मात्रै भएको जिकिर गरे । कार्यक्रममा केन्द्रीय सदस्य हिक्मतजंग कार्की, उदयराज पोख्रेलले राप्रपाले गरेका गतिविधिहरुलाई मिडियाले खासै नसमेटेको गुनासो गरे । नेतृत्वमा युवाहरु धेरै रहेको दावी गर्दै केन्द्रीय सदस्यद्धयले स्याङ्जामा आगमी निर्वाचनमा राप्रपा निर्णयक शक्ति रहेको जिकिर गरे ।
आगामी निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट प्रत्यक्ष र समानुपातिका लागि उम्मेदवारहरु छनोट गरि पठाएको बारेमा समेत जानकारी दिइएको थियो । प्रत्यक्षका लागि ६ जना र समानुपातिकका लागि ७ जनाले आकाक्षा देखाएका छन् भने प्रदेश (क) बाट प्रत्यक्षका लागि ६ जना र समानुपातिकका लागि ७ जनाले आकांक्षा देखाएको पत्रकार सम्मेलनमा जनकारी दिइएको थियो । यसै गरी प्रदेश (ख) बाट प्रत्यक्षमा ६ जना र समानुपातिकमा ७ जनाले आकांक्षा देखाएको राप्रपा स्याङ्जाले जनाएको छ । क्षेत्र नम्वर २ को भने अझै नटुङ्गिएको राप्रपाले जनाएको छ । सम्मेलनमा जिल्ला अध्यक्ष इन्द्रबहादुर गुरुङको सभापत्वि, स्वागत कार्यबहाक अध्यक्ष पदमबहादुर गुरुङ र संचालन जिल्ला सचिव कृष्णमान श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया