सम्पादकीय— व्यवस्था होइन चरित्र बदल
कम्युनिष्ट क्रान्तिकारी भनेर आफूलाई सगौरव दाबी गरिरहेको, दशवर्षे माओवादी सशस्त्र संघर्षको दरिलो ऐतिहासिक पृष्ठभूमि बोकेर आएको नेकपा माओवादीले संसदको अत्याधिक बहुमतको समर्थनसहित पहिलो संविधानसभाको निर्वाचनपछि सरकार चलाउने ऐतिहासिक मौका नपाएको होइन । नेपालमा तात्विक क्रान्तिकारी परिवर्तनको लागि यो त्यस्तो अवसर थियो जो इतिहासमा हम्मेसी आउँदैन । सारा नागरिकहरु क्रान्तिकारी परिवर्तनका लागि मानसिक र भौतिक रुपले तयार भएको मौका थियो त्यो । तर त्यो दुर्लभ मौका उसले कुनै पनि युगान्तकारी राजनीतिक तथा आर्थिक–सामाजिक परिवर्तनको काम नगरेर अनाहकमा गुमायो ।
त्यत्ति मात्र होइन, त्यो समयको सबै दलको सर्वसम्मतिबाट आजको भन्दा निकै प्रगतिशील, समतामुलक समावेशी संविधान जारी गर्ने सम्भावना दैलामै आइपुग्दा पनि त्यो ऐतिहासिक अवसर समेत उसले गुमायो । खेलमा भाग लिने हो भने खेलका प्रचलित नियमहरु पनि पालना गर्नुपर्छ । अन्यथा खेल स्वस्थ प्रतिस्पर्धा बन्न सक्तैन । राजनीतिमा पनि यही सूत्र लागु हुन्छ । नेपालका ठूला भनिएका दलका प्रमुखहरु भने आफूलाई नियममात्र होइन खेलभन्दा पनि ठूलो ठान्छन् । यसैले उनीहरु जनतालाई मूर्ख ठान्छन् र झुक्याइरहन चाहन्छन् । चुनाव घोषणापछि ठूला दलका शीर्ष भनिएका नेताहरुको ‘बर्बराहट’को मात्रा पनि बढ्दैछ । उनीहरु त चुनावको घोषणा नै तिनकै दुराचारको अनुमोदनका लागि भएको ठान्छन् ।
‘चुनावपछि व्यवस्था बदल्न आन्दोलन’ गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्षको ‘चेतावनी’ वा आफ्नो पार्टीले हारे देशले हार्छ भन्ने अर्को कम्युनिष्ट पार्टी एमालेका अध्यक्षको हुँकार यही प्रवृत्तिका उदाहरण हुन् । ठालुहरु सधैँ यस्तै फुटानी गर्छन् । हुनत, ठालुहरुको फुटानी असुरक्षित मानसिकताको अभिव्यक्ति हो । जनताले विवेक प्रयोग गरे भने चुनावमा जित्न नसक्ने देखेर नै तिनले यसरी तर्साउन खोजेको हुनुपर्छ । चुनावमा जितहार हुन्छ र जनता त्यसका निर्णायक हुन्छन् । जनताको निर्णय सहर्ष स्वीकार गर्न नसक्नेहरु सामन्ती चरित्रका अधिनायकवादी हुन् । उनीहरु जसरी पनि आफैँले जित्नुपर्ने ठान्छन् । सत्ताको राजनीति गर्नेहरुले जनतालाई मूर्ख बनाएर आफ्नो कमजोरी लुकाउने प्रयास गरिरहेकै हुन्छन् । तर, संविधान बनेपछि सत्ताबाहिर नरहेको दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु दुर्भाग्य हो ।
देशको अवस्था बिगार्ने कारणीहरुलाई जनताले चिनिसकेका छन् । सूचना प्रविधिको व्यापकता र जनताको चेतना वृद्धिसमेतले अब स्यालले चिल आयो भन्दा कसैले पनि आकाशतिर हेर्दैन । चुनावमा भाग लिनेहरुलाई आफ्नो विचार र कार्यक्रममा जनतासम्म जाने सुविधा र हक दुवै छ । तर, जनताले अनुमोदन गरेनन् भने तिनै विषयमा सडक आन्दोलन गर्ने नैतिक हक हुँदैन । विडम्बना, अहिलेको संसदीय प्रतिनिधित्वको सबैभन्दा बढी लाभ पाउने माओवादी केन्द्रकै अध्यक्षले व्यवस्था बदल्न भनेर आन्दोलन गर्ने फुटानी लगाउँदैछन् । व्यवस्था होइन राजनीति गर्नेहरुले चरित्र र मानसिकता बदल्नुपर्छ । अब पनि नेताहरु नबदलिने हो भने जनताले नेता नै बदल्नेछन् । नेताहरुको राजनीतिक लगानीको साबाँ ब्याजमात्र होइन ब्याजको स्याजसमेत मुलुकले चुक्ता गरिसक्यो । अब धेरै फुटानी नगर !
प्रतिक्रिया