सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय

स्याङ्जा ।
सरकारले आ.व. २०७३÷७४ देखि शुरु गरेको ‘एक विद्यालय एक पुस्तकालय’ अभियानमा अहिलेसम्म धेरै रकम खर्च भइसकेको छ । धेरैजसो विद्यालयले पैसा लिए, तर पुस्तकालय बनाएनन् । कतिले त कबाडीमा बेच्नुपर्ने किताब मिलेमतोमा दोब्बर महँगो मोलमा किनेको पनि भेटियो । धेरैजसो प्रकाशन गृहका बिल नक्कली वा वास्तविकतासँग मेल नखाने खालका देखिन्छन् । कतिपय विद्यालयले चाहिं पुस्तकालयको ‘भौतिक संरचना’ का लागि भनेर पैसा सिध्याएका छन् । तर कुनै कुनै विद्यालयले भने पुस्तकालयको राम्रो व्यवस्थापन पनि गरेका छन् ।
स्याङ्जाको गल्याङ् नगरपालिकाका सामुदायिक विद्यालयमा भदौ महिनामा मात्रै ९ वटा बालमैत्री पुस्तकालय स्थापना भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने वानीको विकास गर्दै स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने उद्देश्यका साथ पालिकाका ९ विद्यालयहरुमा पुस्तकालय स्थापना गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
पुस्तकालय स्थापना हुनेमा बज्रेभन्ज्याङ माध्यमिक विद्यालय, गल्कोट माध्यमिक विद्यालय, ज्ञानज्योती आधारभूत विद्यालय, हिमाञ्चल आधारभूत विद्यालय, लखन थापा आधारभूत विद्यालय, नरोदय माध्यमिक विद्यालय, पक्वादी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालय रहेका छन् । गल्याङ नगरपालिका र रुम टु रिडको साझेदारी तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको छ ।
पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर, कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो । यस पुस्तकालयमा ४ वर्षसम्म नियमित रुपमा पुस्तकहरु थप गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिए ।
विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि थप विद्यालयमा पुस्तकालय स्थापना गर्दै जाने योजना समेत रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले बताए । रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीमा जिल्लाका अन्य विद्यालयहरुमा थप पुस्तकालय स्थापना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया