अमोर बालगृह फेदिखोलाकी कमला सम्मानित

अमृत अर्याल,
स्याङ्जा ।

पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाड मछाड गर्नेहरु बढेका छन् । राजनीतिक दलका कार्ड फ्याँकेर होस् वा कुनै न कुनै संगठन, सञ्जाल वा समूह गठन गरेर किन नहोस् सामाजिक सेवामा लागेकाहरुको भीड बढ्दो छ । के साँच्चै समाज सेवाका लागि समर्पित छ त यो भीड ? के साँच्चै सामाजिक मूल्य, मान्यता र चरित्र बोकेकाहरुले ओगटेका छन् त सामाजिक नेतृत्व ? यो पाटो भने प्रायः छदमरुपमै रहने गरेको छ ।

अरु झै चार्चामा आउन नभै सांच्चिकै समाज सेवाको भावले उदाहरणीय काम गरेकी छन्, स्याङ्जा फेदीखोलाकी कमला पराजुली । कमलाले २०६८ सालमा अमोर सेवा नेपाल (वालगृह) स्थापना गरी संचालनमा ल्याएकी थिईन् । स्थापना कालको समयमा द्धन्द्धपिडित बालबालिका र २०७२ सालबाट अनाथ तथा असहाय बालबालिकाको सेवामा निरन्तर लागिपरेकी कमला यतिबेला सम्मानित भएकी छन् । उक्त बालगृहकी संस्थापक कमला पराजुली, रामबाबु –ज्ञानु सामाजिक सेवा पुरस्कार कोष २०७९ बाट सम्मानित भएकी हुन् । उनलाई नगद एक लाख सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अनाथ र असाह्रय बालवालिकाको संरक्षकत्वमा अहम भुमिका निर्वाह गरेको भन्दै पराजुलीलाई संस्थाले नगद सहित सम्मान गरेको हो ।

हाल कमलाले संचालन गरेको बालगृहमा २० जना बालक र १० जना बालिका गरी जम्मा ३० जना बालबालिका रहेका छन् । जिल्लाको फेदीखोलामा निजि तबरबाट संचालित उक्त बालगृहमा धेरै बालबालिकाले आश्रय पाएका छन् । सरकारको खासै सहयोग नरहेको यस बालगृहको अवस्था समान्य रहेको छ । यसै बालगृहमा बसेका २ जनाले एसईई पास समेत गरिसकेका छन् तर तिनिहरुको नागरिकता गराउन समस्या भएको कमलाको गुनासो छ ।
समाजमा प्रायः मानिसहरु धेरथोर सामाजिक हुन्छन् र आफूलाई सामाजिक कार्यमा सरिक गराउन चाहन्छन् । तर, आफ्नो पारिवारिक अवस्था, सरकारी जागिर लगायतका बाध्यताले पनि कतिपय मानिसहरु समाज सेवामा लाग्ने उच्च मनोकांक्षा भएपनि हरेक सामाजिक कार्यमा आफूलाई समाहित गराउन सकिरहेका हुँदैनन् । तर कुनै जागिर, पेशा नभएकी कमलाले सहयोग जुटाएरै भएपनि धेरै बालबालिकाको उद्धार गरेकी छन् ।

निस्वार्थ भावले काम गरिरहेकी कमला यतिबेला सम्मानित हुदां निकै खुशी छन् । कमलाले यो सम्मानले आफुमा काम गर्ने उत्साह बढेको बताईन् । कमलाले भनिन्, असल काम गर्दै जानुहोस, ढिलोचाडो अवश्य मूल्याङकन हुनेछ । समाज सेवामा लागिरहेका हरेक व्यक्तिहरुले साँच्चै समाज सेवा गरिरहेका छन् कि छैनन् ? उनीहरुको सामाजिक चरित्र छ कि छैन ? समाजमा मिलेर र समाजलाई अघि बढाउने दिशामा उनीहरुको सकारात्मक सोच हो कि होइन ? र उनीहरुको देखाउने दाँत एउटा र चपाउने दाँत अर्काे छ कि छैन ? यो विषय पछिल्लो समयका युवाहरुमाझ चर्चाको विषय हुने गरेको छ । दुईचार जना युवा हुँदा होस् वा चियागफ किन नहुन् ? आफ्नो निजी जीवनलाई एकातिर पन्छाएर अनाथ बालबालिकाको उद्धारमा कमलाले खेलेको भूमिका र उनीले देखाएको चरित्र यतिबेला वहसको विषय बन्न थालेको छ ।

प्रतिक्रिया