नेपाल मगर विद्यार्थी संघमा नयां कार्यसमिति चयन

स्याङ्जा ।
नेपाल मगर विद्यार्थी संघ स्याङ्जाको नयाँ कार्यसमिति गठन गरिएको छ । ‘सम्पूर्ण मगर विद्यार्थी एक हौँ’ भन्ने नारा बोकेको नेपाल मगर विद्यार्थी संघ स्याङ्जाले ८औं जिल्ला अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट नेपाल मगर विद्यार्थी संघ स्याङ्जाको अध्यक्षमा भूपेन्द्र थापा मगर चयन भएका छन् । जिल्लाको पुतलीबजार नगरपालिका १ मालेबगरस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा भएको नेपाल विद्यार्थी मगर संघ स्याङ्जाको आठौँ जिल्ला अधिवेशनले भूपेन्द्र थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कुशुम आले मगर, सचिवमा अमृत थापा, सहसचिवमा देवीका थापा, कोषाध्यक्षमा विशाल थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनुप गाहा मगर, आयुस थापा, निर्मला राना, तारा आले र अश्मि थापा चयन भएका छन् ।

नेपाल मगर विद्यार्थी संघका संयोजक तुलसी पुर्र्जा मगरको अध्यक्षता तथा मनिष थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्नेहरुले मगर जातिहरुको पहिचान र कला संस्कृतिलाई बचाउँदै हरेक क्षेत्रमा क्रियाशिल भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा बोल्दै मगर संघका जिल्ला सभापति विष्णु बहादुर मस्र्याङगीेले हिजोका दिनमा जति पनि मगर जातिहरु थिचोमिचोमा परे पनि आज त्यो समय परिवर्तन भएर केही हदसम्म सफलता प्राप्त गरेको बताए । मगरहरुको भातृ संगठन मध्ये विद्यार्थी संगठनले सक्रिय भुमिका निर्वाह गर्दै आएको भन्दै मगर संघका पूर्वसभापति चन्द्र रानाले अबको नेतृत्वले समग्र मगर विद्यार्थीहरुको हकहितमा काम गर्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम सिग्देलले कुनै पनि अधिकार प्राप्तिको लागि स्वस्फुर्त रुपमा नआउने भएकाले आफैबाट संघर्ष गर्नुपर्ने बताए । उनले मगरहरुको शैक्षिक गुणस्तरमा पनि सुधार गर्नुपर्ने बताए । आफ्ना छोराछोरीको पढाइलेखाइ देखि उनीहरुको चाहाना अनुसार व्यावहारिक बनाउने तिर प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । आफ्नो सीप र दक्षता भएमा जुन सुकै क्षेत्रमा पनि सहभागी हुन सक्ने भएकाले आजको युगमा ज्ञान र सीपको आवश्यक रहेको सिग्देलले बताए । त्यसैगरी नेपाल मगर संघका केन्द्रीय प्रशिक्षक मनिष थापा, तुलसी पुर्जा लगायतले सम्पुर्ण विद्यार्थीका हक, हित र अधिकारका पक्षमा काम गर्न सुझावसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया