चापाकोटमा डम्पिङ् साईडको अभाव, नदी किनारमा फोहोर फाल्न बाध्य
चापाकोट ।
सरोकारवाला निकायले चासो नदिँदा कालीगण्डकी नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ । नदी किनारलाई नै चापाकोट नगरपालिकाकाले बजारको फोहोर फ्याक्ने डम्पिङ साइड बनाउँदा प्रदुषित हुँदै गएको हो । चापाकोट नगरपालिका ९ कि स्थानीय आकृती डोटेलले कालीगण्डकी नदीलाई प्रदुषित हुनबाट बचाउन मुख्य गरी चापाकोट नगरपालिकाले नदीलाई डम्पिङ साइड बनाउन नहुने बताईन् । विश्व सम्पदा सुचिमा सुचिकृत गर्न खोजेको यस कालिगण्डकी नदीलाई फोहर थुपार्न प्रयोग गर्न नहुने डोटेलको तर्क छ । कालीगण्डकी नदी प्रदुषित हुँदा नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई समेत असर परेको छ । त्यसैले वातावरण र नदीलाई असर नगर्ने गरि उचित ठाँउमा दिगो व्यवस्थापन गर्न नगरपालिका सहित यस क्षेत्रका वातावरण विज्ञहरुको पनि बेलैमा ध्यान जान जरुरी भएको स्थानीयहरुको गुनासो छ ।
चापाकोट नगरपालिका र स्थानीयले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको चापाकोट नगरपालिका ९ का भाईराम बिश्वकर्माले बताए । “नगरपालिकाकाको डम्पिङ साइड पनि नदी किनारमै, घाट पनि त्यही अनि कसरी कालीगण्डकी नदी प्रदुषित हुनबाट जोगिन्छ त ?’ उनले भने, ‘चापाकोट नगरपालिकाले आधुनिक घाटको व्यवस्था मिलाउनु प¥यो, अनि बत्राघाटको फोहोरको उचित व्यवस्थापन हुनुप¥यो ।’
कालीगण्डकी नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएको छ । नदी क्षेत्र फोहोर तथा प्रदुषित बन्दा अहिले कालीगण्डकीको पानी प्रयोग गर्न समेत कम हुँदै गएको छ । कालीगण्डकी नदी किनारलाई सफा र सुन्दर बनाउन नदी किनारमा फोहोर फाल्न रोक लगाउनु पर्ने र नदीको बारेमा सचेतना जगाउनु पर्ने स्थानीय नवीन भट्टराईले बताए । “नगरपालिकाकाले मात्र अभियान चलाएर हुँदैन,” उनले भने , “नागरिक पनि सचेत बने कालीगण्डकी नदी किनारमा सफा हुनेछ ।”
चापाकोट नगरपालिका ९ का वडाअध्यक्ष कृष्ण सुबेदिले नदीलाई हराभरा र सफा बनाउनुपर्ने बताए । “नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदुषण रोक्न चापाकोट नगरपालिका, स्थानीय प्रशासन र नागरिक समाजको मुख्य दायित्व हुन आउँछ,’ उनले भने , ‘यसतर्फ सबैले सचेत हुनुपर्ने बेला आएको छ ।’ कालीगण्डकी नदी तटीय क्षेत्रको तल्लो भेगमा खानेपानीको समेत मुख्य स्रोतको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । माथिल्लो क्षेत्रमा नदी प्रदुषित बन्दै गएकोमा तल्लो क्षेत्रका सर्वसाधारण समेत चिन्तित बनेका छन् ।
यस बिषयमा चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खांणले डम्पिङ साईड बनाउने तयारी भैरहेको बताए । नगरपालिकामा व्यवस्थित फोहरमैला संकलन केन्द्र नहुदां धेरै पहिलादेखि नै कालीगण्डकी किनारमा फोहोर फ्याक्ने गरेको उनले स्वीकारे । तर अहिले नदी किनारमा फोहर फ्याक्न बन्द गरिएको तथा बत्राघाटको अव्यवस्थित फोहरलाई पुरेर व्यवस्थित गरिएको खांणले बताए । अहिले कालीगण्डकी नदी किनारमा कही कतै फोहोर नभएको खांणको दावी छ ।
प्रतिक्रिया