जेसीजले भीरकोटमा स्वास्थ्य शिविर संचालन गर्दै

पब्लिक आवाज
भीरकोट ।
भीरकोट जेसिजको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । संविधान दिवसको अवसरमा यहि असोज ३ गते स्वास्थ्य शिविरको आयोजना गरिएको भीरकोट जेसिजका अध्यक्ष कृष्ण पौडेलले बताए । आवश्यकता अनुशार निशुल्क औषधी समेत वितरण गर्ने गरि शिविरको आयोजना गरिएको पौडेलको भनाई छ । शिविरबाट ग्रामिण दुरदराजका जनता धेरै लाभान्वित हुने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताए ।
भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर संचालन हुने जेसीले जनाएको छ । बयरघारी स्थित बालज्योति बोर्डिङ स्कूलमा संचालन हुने शिविरबाट लाभ लिन जेसीजले सबैलाई अनुरोध समेत गरेको छ । असोज ३ गते सोमबार बिहान १० बजे देखि साँझ ५ बजे सम्म शिविर संचालन हुने कार्यक्रम संयोजक रुद्र ढुंगानाले बताए ।
शिविरमा मुटु, पेट, ग्यास्ट्रिक तथा छाती सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स–रे, इ.सि.जि, सुगर तथा अन्य जाँचहरु, रुघा, खोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरु उपलब्ध हुने भीरकोट जेसीजले जनाएको छ ।
शिविरमा चरक हस्पिटलका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. एसके जयसवाल, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. विष्णु पालीखे, जनरल फिजिसीयन डा. सरोज पोखरेल, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप काफ्ले, सुगर, थाइराईड तथा हर्माेनरोग विशेषज्ञ डा. अमृत रिजाल, जनरल तथा इमरजेन्सी फिजिसीयन डा. सन्तोष अधिकारी, बालरोग विशेषज्ञ डा. किरण शर्मा र दन्त चिकित्सक डा. एलिना बरालले सेवा दिने जेसीजले जनाएको छ ।
“भीरकोटको पहिचान, युवाको अभियान” को नारा अनुसार सन् २०१८ मा भीरकोट जेसीजको स्थापना भएको थियो । स्थापनादेखि नै भीरकोट जेसिजले यस क्षेत्रमा नेतृत्व विकास र अन्य विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । विधिको शासन र मानवताको सेवालाई जेसीजले आफ्नो मूलमन्त्र मान्दै आएको पाईन्छ । स्थापनाको ४ बर्षमै जेसीजले रचनात्मक काम गरेको जेसीजको दावी छ ।

 

प्रतिक्रिया