भीरकोट काँग्रेसको डेंगु रोग सचेतना तथा सरसफाई अभियान
भीरकोट ।
असोज ३ गते नेपाली जनताले संविधान आफै निर्माण गरेको दिन । यो दिनलाई विभिन्न कार्यक्रम गरी मनाउन नेपाल सरकारले देशभर नेपाली, सरकारी निकाय, सामाजिक संघसंस्थालाई आग्रह गरेको छ । सोही आग्रह बमोजिम नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिले संविधान दिवसको अवसरमा डेंगु रोग सचेतना तथा सरसफाई गरेको छ । भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आथित्यता र उपप्रमुख भगवती अर्याल रेग्मीको बिशेष आथित्यतामा नगर सरसफाई तथा डेंगु रोग सचेतना कार्यक्रम गरेको हो ।
नेपाली जनताले लामो संघर्ष र लडाई गरेर संविधान जारी भएको दिन बिशेष अवसरको रुपमा लिनुपर्ने नगर प्रमुख कर्माचार्यले बताए । यो अवसरमा सबै नगरवासीलाई शुभकामना समेत कर्माचार्यले दिए । मुलुकको लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकले संविधान पाएको बताउदै नगर प्रमुख कर्मचार्यले संविधान बचाउन सबै राजनीतिकदलहरु एक ठाउमा उभिनुपर्ने बताए । संविधान दिवसको अवसर पारेर नगर सरसफाई अभियानमा जुटेकोमा नेपाली काँग्रेस भीरकोट नगर समितिलाई धन्यवाद दिए ।
कार्यक्रममा नगर उपप्रमुख रेग्मीले भीरकोट नगरपालिका सगँ समन्वय गरी सरसफाई अभियानमा जुटेकोमा नेपाली काँग्रेसलाई आभार व्यक्त गरिन् । डेंगु रोगले पछिल्लो समय समस्या बनाएको स्मरण गराउदै उपप्रमुख रेग्मीले आफ्नो घर आँगन, वरीपरि सरसफाई गर्न सबै नगरवासीलाई अनुरोध गरीन् । भीरकोट नगरपालिकाको बयरघारी बजार क्षेत्रभित्र सरसफाई गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिकदलका प्रतिनिधि, सामाजिक अगुवाहरु, उद्योगी व्यवसायी, कर्मचारी लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपाली काँग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) को सभापतित्व र उपसभापति जगदिशप्रसाद कोइरालाको स्वागत र संचालन सचिव तारा अर्यालले गरेका थिए । संविधान दिवसको अवसरमा सचेतना र सरसफाई अभियानमा सबै सहभागी भएकोमा आयोजकको तर्फबाट नगर सभापति अधिकारीले सबैलाई धन्यवाद दिए ।
प्रतिक्रिया