भीरकोटमा बाँसबाट बिभिन्न सामाग्री बनाउने तालिम
भीरकोट ।
स्याङ्जाको भीरकोटमा बाँस प्रशोधन तथा बस्तु उत्पादन सम्वन्धी तालिम संचालन भएको छ । तालिममा बाँसलाई प्रशोधन गरी बिभिन्न बस्तुहरु बनाउन सिकाईएको छ । नगरपालिकामा सञ्चालित हरित पुनउत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत तालिम प्रदान गरिएको हो ।
पहिलो चरणको तालिम सम्पन्न भैसकेको छ भने दोश्रो चरणको तालिम संचालन भैरहेको छ । नगरको वडा नं. ३ मा संचालित तालिमको अवलोकन गर्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले भने, “यती राम्रा सामाग्री तालिम कै अवधीमा बनउनु भएको छ यसलाई निरन्तरता दिनुहोस् ।” उत्पादित सम्पूर्ण सामाग्रीहरु नगरपालिकाले खरीद गरिदिने भन्दै प्रमुख कर्माचार्यले थपे, “बजारको व्यवस्थापन हामी गछौं ।” उनले सिमित डिजाइनमा नरही फरक फरक डिजाइनमा सामाग्रीहरु बनाउन सुझाव समेत दिए । काम गर्ने व्यक्तिले श्रमको उचित मुल्य पाउनु पर्ने बताउदै नगरप्रमुख कर्माचार्यले नगरपालिकाले बल्छी दिने तर माछा नदिने स्पष्ट पारे । उनले भने,“आत्मनिर्भर बन्न सबैले प्रयास गर्नुहोस् ।”
वडा नं. ३ को भतेरपाटामा भएको तालिम अवलोकन कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनाद हमाल, अन्धाअन्धी सामुदायीक विकास केन्द्रका प्रमुख एकनारायण सापकोटा, केन्द्रका सदस्य रमेश कुमार शर्मा, युएनडिपीका प्रतिनिधी, महिला उद्यमी, पत्रकार लगायतको उपस्थिति रहको थियो । तालिममा बाँसको प्रशोधन र वस्तु उत्पादनको प्रशिक्षण गोविन्द प्रसाद शर्माले गरेका छन् ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले जिल्लामा संचालित एनजिओहरुलाई समावेश गरि क्षेत्रगत रुपमा कहाँ के को उत्पादन हुन्छ त्यसको पहिचान गरि एकद्धार प्रणालीको आधारमा काम गराउने प्रयास भैरहेको बताए । अन्धाअन्धी सामुदायीक विकास केन्द्रका प्रमुख एकनारायण सापकोटाले हरित पुनउत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजनाले कृषि र पर्यटन लक्षित कार्यक्रम अन्तर्गत गाँउमा खेर गैरहेको बाँसलाई आयआर्जनमा जोड्ने प्रयास भएको बताए ।
भीरकोटमा संचालित इविक परियोजना अन्तर्गत सुन्तला खेती, तरकारी खेती, गड्यौला मल उत्पादन, झोल मल बनाउने, अचार बनाउने, होमस्टे प्रवर्धन, करेसाबारी व्यवस्थापन, मौरी पालन, नर्सरी व्यवस्थापन, व्यवसायीक पुष्प खेती र अतिथि सत्कारका क्षेत्रमा तालिम प्रदान गरिरहेको छ । यी विभिन्न तालिमहरु मध्ये अचारमा व्यावसायीक बनेको इविक शाखाको दावी छ ।
आजसम्म संचालित मोहडा बुनाई, अगरबत्ती निर्माण लगायतका अन्य तालिमहरु औपचारिकतामा मात्र सिमित भएको स्थानीय खड्क बहादुर श्रेष्ठको भनाई छ । बाँसको सामाग्री निर्माण गर्ने तालिम लिईरहेका तोप बहादुर बस्नेतले खेर गएको बाँसलाई सदुपयोग गर्न सकिने र फुर्सदको समयमा अतिरिक्त कमाई गर्न सकिने बताए । तालिममा उत्साहजनक सहभागिता रहेको प्रशिक्षक गोविन्द शर्माको भनाई छ । तालिममा बाँसबाट फोटो फ्रेम, घडीको फ्रेम, कपडा हेंगर, बुक कभर, कुर्ची, मोहडा बनाउने काम सिकिरहेको ३२ बर्षिय कृष्ण श्रेष्ठले बताए । उनी अब फुर्सदको समयलाई सदुपयोग गरेर आयआर्जनमा जोडिने सोचमा छन् । होटल व्यावसाय गरेर बसेकी पार्वती श्रेष्ठ पनि बाँसबाट घरयासी प्रयोजनमा काम लाग्ने सामान बनाउने बताउछिन् । यस्तै खाले अन्य उपलब्धिमूलक तालिमको लागि श्रेष्ठले नगरपालिकामा माग समेत गरेकी छन् ।
प्रतिक्रिया