आन्दोलनले व्यवस्था बदलियो जनताको अवस्था बदलिएन ःउपसभापति गुरुङ

गल्याङ् ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा क्षेत्र नंं २ का प्रतिनिधि सभा उम्मेदवार धनराज गुरुङले बुधबार कालिगण्डकी २ लसर्घाको कार्यक्रममा बोल्दै २००७ साल देखीको निरन्तर आन्दोलनले व्यवस्था बदलेको तर जनताको अवस्था बदल्न नसकेको कुरा बताएका छन् । निरन्तरको आन्दोलनले व्यवस्था बदलिएपनि जनताको अवस्था भने जस्ताको त्यस्तै रहेको कुरा गुरुङ्ले उल्लेख गरे । अब जनताको अवस्था बदल्नु नै मुख्य एजेण्डा रहेको बताउदै उपसभापति गुरुङ्ले भ्रष्ट प्रबृत्ति का कारणले गर्दा जनताको अवस्था बदलिन नसकेको जिकिर गरे । मंसिर ४ को चुनाव पछि गरिबी अवस्थालाई विश्राम दिएर मुलुकले नयाँ यात्रा तय गर्ने उनले दावी गरे ।
बिरामी हुँदा सिटामोलको समेत अभाव खेप्ने अवस्थाको अन्त्य गर्नको लागि अब भ्रष्ट प्रबृत्ति बिरुद्ध मतदान गर्न आग्रह गरे । जनताको भोट पाएसंगै सिंहदरबारमा राजकाज चलाउने, चिल्लो गाडीमा चढ्ने हैसियत बनाएकाले जनताको मुल मर्म बुझ्न नसकेको आरोप गुरुङ्को थियो । भ्रष्ट प्रबृत्तिको अन्त्यसंगै समुन्नत नेपाल बनाउने सपनाको ढोका खोलिने कुरा उनले बताए ।
यसपटकको चुनावमा धेरै सोच बिचार गरेर मतदान गर्न आग्रह उपसभापति गुरुङ्को थियो । पँुजी निमार्ण गर्ने उत्पादन बढाउने र नेपाली युवाहरुलाई आफ्नो परिवारको साथमा रहेर काम गर्ने अवसरहरु सिर्जना गर्नको लागि नेपाली काँग्रेसलाई अत्याधिक मत सहित विजयी बनाउन उनले आग्रह गरे । साथै उहाँले कालिगण्डकी ‘ए’ संगै कालिगण्डकी ‘बि’ जलबिद्युत निमार्ण गरियो भने बिद्युत उत्पादन गर्न सकिने कुरा बताए । बिजुली उत्पादन भए लगतै इन्डक्शन चुलोको प्रयोग बढाउन सकिने र ग्यास चुलोको प्रयोग कम गराउन सकिने कुरा उल्लेख गरे । कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार महेश भट्टराईले यो प्रदेशको मुहार फेर्न काँग्रेसलाई जिताउनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा समानुपतिक उम्मेदवार सरस्वती अर्याल तिवारी, युवा नेता भागवत प्रकाश मल्ल, पुर्व सांसद मोहन पाण्डे सुनिता थापा लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया