सम्पादकीय— दियो झैं झगमगाई रहोस्
हिन्दू धर्मावलम्बीहरुको घरआँगनमा यतिबेला तिहारको रमझम छाएको छ । यमपञ्चक, अथवा दिपावली, तिहार, लक्ष्मीपूजा र भाइटीकाका नामले चिनिने यो धार्मिक, सांस्कृतिक चाड बहुआयामिक छ । धन र वैभवकी देवी महालक्ष्मीको पूजाआजा, उपासना यो चाडको केन्द्रीय पक्ष हो । सँगसँगै यो दिदीबहिनी र दाजुभाइ बीचको पवित्र नातालाई अझैं खँदिलो बनाउने अथवा दिदीबहिनीले दाजुभाइको दीर्घ, स्वस्थ र समुन्नत जीवनको कामना गर्दै पञ्चरंगी टीका, दुवो र मखमली माला लगाई दिने सांस्कृतिक पर्व हो । हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावली अर्थात् तिहार सबै नेपालीहरुको आगनमै प्रवेश गरेको छ । तिहार पर्व मनाउन देश भित्र बाहिर रहेका नेपालीहरु घर फर्किने क्रम बढ्दो छ । दशैं विदाई गरिसकेको छोटै समयमा तिहार प्रवेशले विपन्न समुदाय भने चिन्तित भएका छन् ।
चर्को मूल्यवृद्धि र अभावै अभावका कारण जिउन बाध्य अति न्यून वर्गका समुदायलाई भने दशैं पछि तिहार आयो तिहार पछि नेवार अर्थात व्यापारी आयो भने झैं भएको छ । तिहार पश्चात् नेवार व्यापारी घर–घरमा आफ्नो उधारो रकम उठाउन आउने पुरानो चलन कायम छ । यो मान्यतामा धेरै नेपाली जिउन बाध्य छन् । हिन्दुहरुले तिहारलाई दाजुभाई र दिदीबहिनीबिचको चीरस्थायी मित्रता र पुनर्मिलनका रुपमा लिने गरेको पाईन्छ । दिदीबहिनीले आफ्ना दाजुभाईलाई सयपत्री मखमली फूलको माला, टिका, नयाँ बस्त्र र मिष्ठान्न भोजन खुवाउने परम्परा छ । त्यसैगरी दाजुभाईले आफ्ना दिदी बहिनीहरुलाई आ–आफ्नो गक्ष अनुसार दक्षिणा दिने चलन छ । तिहार काग, कुकुर, गाई–गोरु, लक्ष्मी र भाई पूजा गरी ५ दिनसम्म मनाईन्छ । हिन्दुहरुको संस्कृति संरक्षणका नाममा तिहारमा जुवा, तास र कौडा खेल्ने प्रचलन पनि कायमै छ । तर संस्कृति जोगाउने नाममा घरबास नै सर्वस्व हुने गरी जुवातास खेल्ने गलत परम्परालाई हटाउनु अति आवश्यक छ । त्यसैगरी तिहार बढि तडकभडक र खर्चिलो गरी मनाउने र अति जोखिमपूर्ण विस्फोटक पदार्थ पटका पड्काउने कार्यले वातावरण आतंकित बनाउने र धेरै रकम खर्चिने गरेको पाईन्छ ।
पटकाबाट विगतका तिहारमा मानिसले जिउधन समेत गुमाउन परेको समाचार बनेका थिए । यसवर्ष भने पटकाकै कारणबाट सन्त्रासमा जिउन कसैलाई नपरोस् । यस तर्फ वातावरणलाई सुव्यवस्थित कायम राख्न पटका र जुवाका खालहरुमा प्रशासनले दृष्टि पु¥याउनुपर्ने हुन्छ । तिहारको अवसरमा देउसी भैलो खेल्ने हाम्रो मौलिक परम्परा नै हो । देउसी भैलोकै नाउँमा धेरै रकम संकलन गर्ने र संकलित रकमलाई वनभोज र मोजमस्तीमा खर्चिने गलत परम्परालाई हटाउनुपर्ने हुन्छ । देउसी भैलोबाट संकलित रकम बाटो, विद्यालय पानीको धारो, कुवा, प्रतिक्षालय जस्ता सामुदायिक कार्यमा योगदान पु¥याउनुपर्ने हुन्छ । यस तर्फ सबै हिन्दु धर्मवलाम्बीहरुले उचित ध्यान पु¥याउन सके तिहार सार्थकतापूर्ण मनाइएको ठहरिनेछ । अन्त्यमा सबै हिन्दु धर्मावलम्बी समुदाय आ–आफ्नो गक्ष अनुसार दिपावली तिहार मनाऔं । हाम्रो पनि दिपावलीको शुभकामना ।
प्रतिक्रिया