अनुदानमा आलु र गहुँको बीउ वितरण

भीरकोट ।
भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा आलु र गहुँको बीउ वितरण गरेको छ । हरेक बर्ष नगरपालिकाले कृषकहरुलाई अनुदानमा आलु र गहुँको बीउ वितरण गर्दै आएको छ । गत बर्षहरुमा समयमै बीउ आइनपुग्दा कृषकहरुलाई बाली लगाउन ढिलो भएको थियो । तर यसपटक समयमै बीउ आएर वितरण समेत भैसकेको छ । कृषकहरुको माग बमोजिम ३ प्रकारका आलुका बीउ र १ प्रकारको गहुँको बीउ खरिद गरी नगरपालिकाले अनुदानमा वितरण गरेको हो ।
कृषकहरुको माग बमोजिम १४ लाख बराबरको आलुको बीउ र १३ लाख ५० हजार बराबरको गहुँको बीउ खरिद गरि वितरण गरिएको कृषि विकास अधिकृत किसन अर्यालले जानकारी दिए । उनका अनुसार कार्डिनल, जनकदेब र एम एस ४२ जातको आलुको बीउ तथा गौतम जातको गहुँको बीउ खरिद गरि वितरण गरिएको छ । पालिकाले ५० प्रतिशत अनुदान दिँदा किसानले कार्डिनल आलुको प्रतिकेजी ४१ रुपैयाँ ५० पैसा, जनकदेब आलुको प्रतिकेजी ४५ रुपैयाँ र एम एस ४२ आलुको प्रतीकेजी ३३ रुपैयाँ ५० पैसा तथा गौतम जातको गहुँको प्रतिकेजी ४५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
भीरकोट कृषि शाखाका अनुसार कार्डिनल आलु १५ टन, जनकदेब आलु १५ क्वीन्टल र एमएस आलु ४ क्वीन्टल तथा गौतम जातको गहुँ १५ टन खरिद गरि वितरण समेत भएको हो । कृषकको माग बाहेक थप २ टन आलु खरिद गरिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । उनले भने, “हामीले गुणस्तरीय आलु र गहुँको बीउ खरिद गरि वितरण गरेका छौं ।”
नगरपालिकाले यसपालि सबै बीउ बिजन बेलैमा उपलब्ध गराएको कृषक पोतप्रसाद तिवारीले बताए । निकट भविष्यमा रासायनिक मल पनि उपलब्ध गराउने नगरपालिकाको लक्ष्य छ । आलुको बीउ वितरणको लागि ३० लाख बजेट छुट्याइएको भएपनि माग कम हुँदा १४ लाख बराबरको आलु र १३ लाख ५० हजार बराबरको गहुँको बीउ खरिद गरि वितरण गरिएको कृषि शाखाले जनाएको छ । यस पटक विगतको भन्दा कम माग भएकाले कृषकको आवश्यकतालाई मध्यनजर गरेर २ टन थप खरिद गरिएको बताइएको छ । गत वर्ष कमसल आलुको बीउ अनुदानमा दिइएको र समयमा पनि उपलब्ध नभएकाले यो वर्ष माग कम भएको हुनसक्ने आर्थिक समिती संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र के.सी. को भनाइ छ ।
प्रतिक्रिया