रोचक बन्दै स्याङ्जा क्षेत्र नं. २ को निर्वाचन, कसले मार्ला बाजी

वालिङ ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै स्याङ्जा क्षेत्र नं २ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा स्याङ्जा २ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका ४५ वडामध्ये कांग्रेसले २५ र नेकपा (एमाले)ले २० वडा जितेका थिए ।
आगामी निर्वाचनमा गुरुङ र एमालेका उम्मेदवार केन्द्रिय सचिव तथा पूर्व मन्त्री पद्मा कुमारी अर्यालबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट समेत ३ जना उम्मेदवार छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ पनि चुनावी मैदानमा छन । उनले काँग्रेसका उम्मेदवार धनराज गुरुङ र एमालेका उम्मेदवार पद्मा अर्यालको मत काट्ने आँकलन गरिएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनबाट उपसभापति बनेका गुरुङका लागि संसदीय चुनावमा यो पहिलो प्रतिस्पर्धा हो । २०६४ र २०७० सालको संविधान सभामा गुरुङ समानुपातिकबाट संविधान सभा सदस्य बनेका थिए । राष्ट्रियताको पक्षमा लिने अडान र भ्रष्टाचारविरुद्धको सक्रियताले गुरुङ निकै लोकप्रिय छन् ।
एमालेकी उम्मेदवार पद्माकुमारी अर्याल २०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेसका नेता एवम् त्यतिबेलाका बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चामा आएकी थिईन् । उनी केपी ओली नेतृत्वको सरकारमा भूमिसुधार तथा कृषि मन्त्री बनेकी थिईन् । पद्मा भूमिसुधार मन्त्री रहेको समयमा नेपालको नयाँ (चुच्चे) नक्सा जारी भएको थियो भने सगरमाथाको उचाइ पनि नापिएको थियो । मन्त्री हुँदा जिल्लाको विकासमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अर्यालको आलोचना हुने गरेको छ । अर्यालले मतदानका लागि आह्वान गर्दै सामाजिक सञ्जालमा गर्ने चुनावी पोस्टको कमेन्टमा आउने गरेका टिप्पणीले पनि यसलाई पुष्टि गर्दछ ।
गुरुङ र अर्याल दुवै जना पटक–पटक सांसद बन्न पुगे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । गएको वर्षको मंसिरमा चितवनमा भएको महाधिवेशनबाट अर्याल एमाले सचिव बनेकी हुन् । त्यसअघि उनी केन्द्रीय सदस्य थिईन् । एमाले स्याङ्जाको अध्यक्षसमेत बनेर काम गरिसकेकी अर्याल छोटो समयमा राजनीतिक उचाइ प्राप्त गर्ने नेतामध्ये पर्छिन् ।
विगतमा स्याङ्जालाई कांग्रेसको गढ मान्ने गरिएको थियो । गोपालमान श्रेष्ठले एकछत्र राज गरेको यो क्षेत्रमा २०७४ सालको चुनावमा एमालेले जित निकालेको थियो । कांग्रेसको आन्तरिक विवाद र टिकट वितरणमा समस्या देखिदा काँग्रेसले यो क्षेत्रमा हार बेहोर्नुपरेको कांग्रेसकै नेताहरु बताउँछन् । अर्काेतर्फ एमाले र माओवादीको तत्कालीन तालमेलका कारण २०७४ सालको प्रतिनिधि सभामा स्याङ्जाका दुवै क्षेत्रमा एमाले विजयी भएको थियो ।
०७४ को निर्वाचनमा पद्मा अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गर्दा गोपालमान श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए । त्यतिबेला तीन हजार सात सय छ मतान्तरले पद्मा विजयी भएकी थिईन् । २०७९ सालसम्म आइपुग्दा पाँच वर्षअघिको समीकरणमा फेरबदल भएको छ । एमाले विभाजनको असर यस क्षेत्रमा पनि देखिएको छ । पालिका चुनावको मत परिणामअनुसार स्याङ्जामा एमाले दोस्रो स्थानमा छ । पद्मा अर्यालकै जन्मथलो वालिङ नगरपालिका १४ मा अहिले समाजवादीको पकड राम्रो छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा यो वडामा कांग्रेसले वडाध्यक्ष र चार वटै सदस्य जित हात पारेको थियो । कांग्रेसबाट वडाध्यक्ष जितेका राजु कुँवरले झन्डै आठ सय मतान्तरले एमालेका वडाध्यक्षका उम्मेदवार कृष्ण डुम्रेलाई पछि पारेका थिए ।
गएको वैशाखमा सम्पन्न पालिका चुनावमा वडा तहको मतको आधारमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । माओवादीको १ हजार २ सय ४३ र राप्रपाको ५ सय ११ र नेकपा समाजवादीको १ हजार २ सय ३३ मत रहेको छ । यो हिसाबले हेर्दा गठबन्धनका उम्मेदवार अर्थात् कांग्रेसका धनराज गुरुङ अगाडि छन् । पद्मा आफ्नो जित दोहो¥याउने दाउमा छन् भने धनराज इतिहास रच्ने दाउमा छन् ।

प्रतिक्रिया