स्याङ्जा १ मा काँग्रेसका थापा अगाडि, २ को मतगणना अनिश्चित
स्याङ्जा ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म ७ हजार ९ सय ९८ मत गणना सकिएको छ । मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार राजु थापाले ४ सय ५५ मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले ३ हजार ५ सय ९७ मत पाएका छन् । उनका प्रत्यासी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीले ३ हजार १ सय ३८ मत पाएका छन् । अहिलेसम्म पुतलीबजार नगरपालिकाको वडा नं. १, २, ७, ८, ९ र १० को मतगणना सम्पन्न भएको छ ।
स्याङ्जा क्षेत्र नम्बर २ मा भने मतगणना सुरु भएको छैन् । उक्त क्षेत्रका चारवटा बुथ कब्जा भएको भन्दै नेकपा एमालेसहितका दलले पुन ः मतदानको माग गरेका छन् । चापाकोट नगरपालिकाको वडा नम्बर ३, ४ र ५ का चारवटा बुथमा अनाधिकृत मतदान भएको नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ती नेपाल तथा स्वतन्त्र उम्मेदवार लगायतको आरोप छ । उनीहरुले पत्रकार सम्मेलन गरेर पुन ः मतदानको माग गरेका छन् ।
काँग्रेसले कहीकतै बुथ कब्जा नगरेको तथा एमालेको आरोप निराधार रहेको काँग्रेसका उम्मेदवार तथा केन्द्रिय उपसभापति धनराज गुरुङको भनाई छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा बुथ कब्जा भएको एमालेकी सचिव तथा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्यालको भनाइ छ । उनी भन्छिन्, ‘आइतबार सम्पन्न भएको मतदानमा अनाधिकृत रुपमा बुथ कब्जा भएकोले पुन ः मतदान गर्नुपर्छ ।’ पुन ः मतदानको माग गर्दै नेकपा एमालेले निर्वाचन आयोग अगाडी आन्दोलन गरेको छ भने यता छिटो मतगणना सुरु गर्नुपर्ने भन्दै काँग्रेसले समेत विरोध प्रदर्शन गरेको छ । निर्वाचनमा कुनै धाँधली नभएको तथा विधिपूर्वक निर्वाचन सम्पन्न भएको काँग्रेसको दावी छ ।
सर्वदलीय बैठक पनि विना निष्कर्ष टुंगिएको छ । यसले गर्दा स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । दुइ दलको विवादका कारण मतगणना अनिश्चित बनेको छ । चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा काँग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ । बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुन ः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने जनाउदै एमाले विरोधमा उत्रिएको हो ।
स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । स्याङ्जा क्षेत्र नं १ मा भने मतगणना जारी रहेको छ ।
प्रतिक्रिया