मतगणनाको माग गर्दै काँग्रेसका धनराज गुरुङ धर्नामा

वालिङ ।
स्याङ्जाको क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली काँग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् । स्याङ्जा २ मा मंसिर ४ गते भएको चुनावको मतगणना अहिलेसम्म सुरु भएको छैन् । नेपाली काँग्रेसले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ ।
एमालेबाट स्याङ्जा २ मा उम्मेदवार रहेकी पद्माकुमारी अर्यालले काँग्रेसले धाँधली गरेको दाबी गरेकी छन् । तर काँग्रेसले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले मतगणना गरिनुपर्ने माग गर्दै धर्ना दिएको छ । धर्नामा काँग्रेस उम्मेदवार गुरुङ पनि सहभागी छन् ।
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्न गठबन्धनमा आवद्ध पाँच दलले समेत माग गरेका छन् । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, जिल्ला समन्वय समिति नेकपा माओवादीका संयोजक प्रकाश न्यौपाने किरण, नेकपा माक्र्सवादी (पुष्पलाल) का अध्यक्ष डोलराज विक र नेपाल समाजवादी पार्टीका अध्यक्ष ख्याम नारायण ढकालले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अब कत्ती पनि ढिलाई नगरि तुरुन्त मतगणना प्रारम्भ गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र २ मा २०७९ मंसिर ४ गते भएको निर्वाचनमा आम मतदाताहरुले उल्लासपूर्ण रुपमा मतदान गर्नुभएको छ । आम मतदातालाई आभार व्यक्त गर्दै विज्ञप्तिमा सार्वभौम जनताले संविधान बमोजिम व्यक्त गरेको आत्मनिर्णयको अधिकारलाई मतपेटिकामा व्यक्त गरिसकेको उल्लेख छ । मतपेटिका मतगणना स्थलमा आइसकेपछि तुरुन्त मतगणना प्रारम्भ गरी जनताको निर्णय सार्वजनिक गरिसक्नुपर्ने अवस्थामा मतगणनामा अवरोध उत्पन्न गर्ने मनसायले मतगणना रोकिनु र हालसम्म पनि मतगणना प्रारम्भ नगर्ने प्रवृतिप्रति लोकतान्त्रिक वाम गठबन्धनमा आवद्ध दलहरुले दुःख व्यक्त गरेको विज्ञप्ति मार्फत बताईएको छ ।
मतदान प्रक्रियामा सहभागी हुने क्रममा विपक्षी दल नेकपा एमालेको आक्रमणबाट काँग्रेसका भरत वस्ती घाइते भएको बताईएको छ । विज्ञप्ति मार्फत निर्वाचन निर्देशिका प्रचलित निर्वाचन ऐन, कानुन र विगतका निर्वाचनका मतगणनाका नजिरहरुलाई अक्षरश पालना गर्दै तुरुन्त मतगणना प्रारम्भ गर्न माग गरिएको छ । गठबन्धनमा आवद्ध दलहरुले मतगणना सुरु गर्न अब कत्ती पनि ढिलाई नगरियोस् भनी निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया