स्याङ्जामा खाता खोल्दै एमाले, प्रदेशमा सुन्दास विजयी

स्याङ्जा ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी भएकी हुन् । विजयी सुन्दासको निकटतम् प्रतिद्वन्द्वी अमृता थापाले १३ हजार २ सय ६६ मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै सुन्दास विजयी भएकी हुन् ।

उक्त प्रदेश सभा क्षेत्र अन्तर्गत राप्रपाका सूर्यलाल श्रेष्ठले १ हजार ५ सय ११, हाम्रो नेपाली पार्टीका मकबुल मियांले ९ सय ८२, मंगोल नेशनल अर्गनाइजेशनकी तिर्थ गुरुङले ९ सय ४५, स्वतन्त्र उम्मेदवार दुर्गादत्त भुसालले ६ सय ९२ र राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापाले ८१ मत प्राप्त गरेका छन् । ६२ हजार ५ सय ५७ मतदाता रहेको यस प्रदेशसभा अन्तर्गतको क्षेत्रमा जम्मा ३३ हजार १ सय ९८ मात्र मत खसेको थियो । खसेका मतमध्ये १ हजार ९४ मत बदर भएका छन् ।
प्रदेश सभा सदस्यमा निर्वाचित सुन्दास यसअघि स्याङ्जा जिल्ला समन्वय समितिकी सभापति हुन् भने उपविजेता थापा प्रतिनिधि सभाकी पूर्व सासंद हुन् । यो निर्वाचनमा देशभरीबाट प्रत्यक्षतर्फ दलित महिलाले जितेको यो नै पहिलो नतिजा हो । अनुभवको कोणबाट हेर्दा, सीता सुन्दासले लामो समयदेखि स्याङ्जाली माटोलाई चिन्ने र रुपान्तरण गर्ने प्रयास गर्दै आएकी छन् । नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनले विद्यार्थी जीवनदेखि नै निरन्तर भूमिका निर्वाह गर्दै आएकी थिईन् । उनले राजनीतिक आन्दोलनसँगै समाजमा सँधै पछाडि पर्दै आएको दलित समुदायको पक्षमा समेत संघर्ष गर्दै आएकी थिईन् ।

०६२÷६३ को आन्दोलनपश्चात जिल्ला शान्ति समितिको प्रमुख भएर सुन्दासले काम गरेकी थिइन् । साथै ०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात स्याङ्जा जिल्ला समन्वय समितिको प्रमुखमा रहेर जिल्ला स्तरमा विभिन्न महत्वपूर्ण विकास निर्माण एवं कार्यक्रमको नेतृत्व सञ्चालन गरेको अनुभव सुन्दासमा रहेको छ । यस क्षेत्रबाट प्रदेश सभामा कांग्रेसको उम्मेदवार थिएन् । मुख्य प्रतिस्पर्धी एमाले र गठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवार दवै महिला थिए । अब पार्टीहरुले कोटा पु¥याउन मात्रै महिलाहरुलाई राजनीतिमा सहभागी गराउने हैन, महिलाहरुको नेतृत्व क्षमतालाई मौलाउन सक्ने वातावरण संगठनभित्र र बाहिर तयार पार्न आवश्यक छ ।

प्रतिक्रिया