७ दिन बित्दा समेत मतगणना हुन सकेन

वालिङ ।
निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ४ वटा केन्द्रमा धाँधली भएको भन्दै पुन ः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।
मतगणना कहिले र कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल छ । चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बूथ कब्जा गरेर कांग्रेसले मत खसालेको एमालेको आरोप छ । यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ ।
चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत खसालेको एमालेका उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छन् । निष्पक्ष रुपमा मतदाताले मत खसालेको कांग्रेसका उम्मेदवार धनराज गुरुङले दाबी गरे । विगत १ सातादेखि धाँधली भएको बुथमा पुन ः निर्वाचन हुनुपर्ने माग गर्दै एमालेले आन्दोलन गरिरहेको छ भने तत्काल मतगणना गर्न भन्दै कांग्रेस धर्ना बसिरहेको छ । दुवै पक्षको आन्दोलन वालिङमा जारी छ ।
निर्वाचन विधिपूर्वक, सौहार्दरुपमा सम्पन्न भएको नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति केदार काफ्लेले प्रतिक्रिया दिएका छन् । नियमसंगत ढंगबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको र मतपेटिका आएको उनले बताए । आफूहरु मतगणना हुनुपर्ने माग गर्दै धर्ना बसिरहेको काफ्लेले बताए ।
स्याङ्जा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले केन्द्रीय निर्वाचन कार्यालयको निर्णय पर्खेर बसेको पब्लिक आवाजलाई बताए । माथिबाट निर्णय नआउँदासम्म आफू थप केही नबोल्ने उनी बताउँछन् । केन्द्रीय निर्वाचन कार्यालयबाट प्रतिनिधि आएर छानबिन गराउने काम भएको र अहिलेसम्म कुनै जवाफ नआएको शर्माले बताए ।
मतगणना वा पुन ः मतदान के गर्ने भन्नेबारे समयमै टुंगो नलाग्दा यहाँका जनता निराश बनेका छन् । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै मतदान केन्द्रका मतपेटिका संकलन गरी मतगणनापूर्व सर्वदलीय बैठक बस्ने क्रममा पुन ः मतदानको माग आएको बताए । सबै मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेपछि सबै काम निर्वाचन आयोगको हुने उनको भनाइ छ । ‘हामीले मतपेटिका र कर्मचारीलाई सुरक्षित साथ ल्याइपु¥याएका हौं,’ उनले भने, ‘अहिले पनि सुरक्षाको काम प्रशासनको हो । अरु निर्णय र काम निर्वाचन आयोगको हो ।’

प्रतिक्रिया