एमाले स्याङ्जामा कुटपिट, कार्यालय तोडफोड

प्रकाश डोटेल,
स्याङ्जा ।

नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायण प्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो । कुटपिटबाट एमाले जिल्ला कमिटी सदस्य तथा पुतलीबजार नगरपालिका वडा नं. १३ का ईन्चार्ज लक्ष्मीपति सुबेदी घाईते भएका छन् । ४९ वर्षिय घाईते सुबेदीको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

घाईते सुबेदीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । सुबेदीको टाउकोमा २ वटा टाँका लगाईएको छ । स्थानीय मेडिकल र जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि सुबेदीको पोखरामा थप उपचार गरिएको छ । सुबेदीमाथि सांघातिक आक्रर्मण हुँदा उनकी १८ वर्षिय छोरी विनिता सुबेदी समेत घाईते भएकी छन् । उनको टाउको, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको स्थानीयले बताए । आक्रमणमा परेका बुबालाई जोगाउन जाँदा छोरीलाई चोट लागेको हो ।

अन्तरघातको आरोपमा कुटिएका सुबेदीले मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरीपछि कुटपिटमा संलग्नको खोजिकार्य भईरहेको स्याङ्जा प्रहरीले जनाएको छ । सुबेदीलाई कुटपिट गर्नु पूर्व युवाहरुले एमाले स्याङ्जाको पार्टी कार्यालय तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयका कुर्चि, टेबल र झ्यालका सिसाहरु फुटेको एमाले स्याङ्जाले जनाएको छ ।

एमाले स्याङ्जाभित्र नारायण मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप चलेको छ । मरासिनी पराजित भएसँगै अर्याल समर्थित क्षेत्र नं. १ का कार्यकर्ता त्रसित बनेका छन् । त्रसित केही स्थानीय नेताले सामाजिक सञ्जाल मार्फत सुरक्षाको माग गरेका छन् । युवाहरुले फोन मार्फत आवश्यक परे भौतिक आक्रमण गर्ने भन्दै धम्क्याउने गरेको अर्याल समर्थित कार्यकर्ताले बताएका छन् । मरासिनीलाई अन्तरधात गर्नेहरुले चुनाबको अघिल्लो रात लगेको पैसा समेत नबाँढेको आरोप लागेको छ ।

प्रतिक्रिया