स्याङ्जा–२ बाट काँग्रेसका धनराज गुरुङ विजयी
वालिङ ।
कांग्रेसले प्रतिनिधिसभा सदस्यमा १ सिट थप गरेको छ । स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ५ हजार ६ सय २७ मत बढी ल्याई विजयी भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन् । अघिल्लोपटक कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी अर्याल यसपटक भने पराजित हुन पुगिन् । यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लडेनन् र धनराज सोही क्षेत्रमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गरेका छन् ।
२०७० मा समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रिय उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । उनी पूर्व संविधानसभा सदस्य पनि हुन् । गुरुङ नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघको केही समय केन्द्रिय सभापति समेत भएका थिए ।
१ लाख १६ हजार ६ सय ७८ मतदाता रहेको यहाँ ७० हजार १ सय ९१ मत खसेको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै गणनामा ढिलाइ भएको थियो । पुन ः मतदानका लागि एमालेले गरेको माग अस्वीकार गर्दै निर्वाचन आयोगले मतगणनाको निर्देशन दिएसँगै बुधबारदेखि गणना सुरु भएको थियो ।
यस्तै प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् । भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरे । यो सँगै स्याङ्जा २ अन्तर्गतको दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित भएका हुन् । प्रदेश सभामा कांग्रेसका भोजराजसंग एमालेका मोहन रेग्मी र भट्टराईसंग बुद्विमान श्रेष्ठ पराजित भएका हुन् ।
प्रतिक्रिया