आँधीखोलाको सभ्यता र इतिहास जोगाउन सकस

वालिङ ।
आँधीखोलामा माछाले कुर लगाउने ढुंगासमेत बाँकी नरहनेगरी मनलाग्दी र अनियन्त्रित दोहन भइरहेको छ । साथै, श्रवणकुमारको इतिहास जोडिएको यो खोलाका महत्वपूर्ण शिलाहरु पनि जोखिममा परेका छन् । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व संकटमा परेको छ । वार्षिक रुपमा स्याङ्जामा ६ वटा पालिकाले आँधीखोलाको प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङकन अध्ययन प्रतिवेदन तयार गर्ने गरेका छन् । तर, यसको नियमनकारी निकाय र अनुगमन फितलो हुँदा तोकिएको मापदण्ड विपरीत नदीजन्य वस्तुको उत्खनन् हुँदै आएको छ ।
यतीबेला आँधीखोलाको सभ्यता र इतिहास जोगाउन जरुरी रहेको आवाज उठ्न थालेको छ । यसअघि विभिन्न संघसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व संकटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ ।
समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ । समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता संकटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्थाले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संस्थाले खोलाबाट जथाभावीरुपमा ढुंगा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने बताएको छ । संस्थाले खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ भन्दै खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातीको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाएको छ ।
“स्थानीय सरकारले नदीजन्य वस्तु अवैध उत्खनन् रोक्न आवश्यक छ ।” नेपाल नदी संरक्षण संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले भने, “मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिनका लागि ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन गर्न थालिएको छ ।” अनियन्त्रित नदीजन्य वस्तुको उत्खनन्मा रोक लगाउन स्याङ्जाभित्र सबै पालिकाको समन्वय आवश्यक रहेको आलेको भनाई छ ।
“आँधीखोलामा पहिला पानीमुनी देखिने ढुंगा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावीरुपमा खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् कार्यबाट निम्तिएको संकट हो” आलेले भने, “पहिलाजस्तो ढुंगा खोलामा देखिँदैनन्, माछा पाइनै छाडे, माछा मारेरै जीवनयापन गर्ने माझी जातीको पेसा लोप भएको छ ।” आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । “स्याङ्जाको सभ्यता तथा अमूल्य गहनाको रुपमा रहेको आँधीखोलाको संरक्षण र संवद्र्धनमा यहाँका नीति निर्माता र नागरिक पहिला सचेत हुनुपर्छ”, आलेले भने, “होइन भने केही वर्षपछि काठमाडौँको बागमती र विष्णुमतीको जस्तै हालत आँधीखोलाको हुनेमा कुनै शंका छैन, समयमै ध्यान दिनुपर्छ ।”
जिल्लाको मध्यभाग भएर बग्ने आँधीखोलाको सभ्यता जोगाउनुपर्नै बताउदै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य भन्छन्, ‘जिल्लाको सबै पालिका मिलेर हाम्रो सभ्यता जोगाउनुपर्छ, आँधीखोलाबाट क्षणिक फाइदा होइन, दीर्घकालीन फाइदा उठाउन सके यहाँ पर्यटकको आकर्षण बढाउन सकिन्छ।’ आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । आँधीखोलाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको दोहन हुन नदिन प्रयास गरिने बताए । “आँधीखोलाको सभ्यता जोगाउनका लागि हामी प्रतिबद्ध छौँ, सकारात्मक छौँ, यसलाई प्रदूषण रहित बनाउन कसरी सकिन्छ भन्नेमा चिन्तित छौँ” खाणले भने, “बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउनका लागि कार्य थालिएको छ, अब छिट्टै सकिन्छ ।”
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधीखोला स्याङ्जाको आँधीखोला गाउँपालिका चिलाउनेबासबाट शुरु भएर स्याङ्जाकै कालिगण्डकी गाउँपालिकाको आँधीमुहानमा टुङ्गिन्छ । यस खोलाको महिमा धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । आँधीखोलामा माछा हराउँदै गएकाले माझी जाती आफ्नो पुख्र्यौली पेसाबाट पलायन हुँदै गएको अवस्था छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ ।
पछिल्लो समय आँधीखोलामा बढ्दै गएको अवैध उत्खनन्ले आँधीखोलाको धार्मिक मात्र होईन प्राकृतिक अस्तित्व समेत ओझेलमा पर्न थालेको छ । खोलाबाट अनियन्त्रित ढुंगा निकासी भएको कारण माछाले अण्डा पार्ने ठाउँ नै नभएपछि माछाको अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ । उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार र खेतीयोग्य फाँटहरु यही खोलाको किनारमा अवस्थित छन् ।

प्रतिक्रिया