‘बा’ नहुनु !

शम्भु अर्याल,
वालिङ–६, मिर्दी, स्याङ्जा,

 

लाग्थ्यो आमा नहुनु
धर्ती विहीन हुनु हो
बा ! किन लागिरहेको आजकल
बा नहुनु भनेको
मान्छे हावाविहीन हुनु हो !
बगिरहेको पानी
सुक्योभने अचानक
उफ्रिरहेको माछालाई छोडेर
कति छिटो फड्किन्छ भ्यागुतो ?
बा !
भनेर नहुने छाता एउटै छ
उडाइदियो भने हावाले
बिसम्मार हुरीमा पनि
कुप्री परेर भिजाएर आफ्नै शरिर
छानो बनिदिन्थ्यौ
तापक्रम बढेर नानीबाबुहरूको
ज्वरोले तातेर अर्धचेतन बनेको बेला
बाँधिदिँदा पानीपट्टी
जिब्रोले बरफको स्पर्श गरेजस्तै
कति शीतल अनुभव हुन्थ्यो शरीरमा
तिमी नै बनेपछि धुवाँ
ध्वाँसोले दलिन कालै देख्छु
तिमी नै बनेपछि पानी
बग्न छोडेको छ कुलेसो
तिमी नै बनेपछि अग्नि
खडेरीमा घामको तातोले
धर्ती छिद्रा–छिद्रा बनेको छ
तिम्रो अभावमा
फुटाएर मूल आँखामा
थोपा–थोपा आँसु खसाउँछु
बालुवामा पानी खन्याए जस्तै
कता–कता भासिन्छ
बा नहुनु
यस्तो लागिरहेको छ
फुटिरहेको मूल सुक्नु
बगिरहेको हावा रोकिनु
गर्मीले पसिना छुट्नु
चट्याङले घरीघरी तर्साउनु
धरतीमा सात तत्व नहुनु
आकाशमा इन्द्रेणी नलाग्नु
मान्छेमा बुद्धि नहुनु
मान्छेले कान नसुन्नु
बा नभएपछि
अरूजस्तो म हुनसकिन
म जस्तो अरू हुन सकेनन्
बादलको छानो मुनी
खुला आकाशमा
महोदय !
जरा जस्तै फैलिएको मष्तिष्कको
यो फरकपनलाई
कसरी बुझ्नुहुन्छ तपाईंहरू ?

प्रतिक्रिया