सहकारीलाई उत्पादनमा जोड्नुपर्छ ः पुर्व मन्त्री अर्याल
वालिङ ।
नेपाल सरकारका पूर्वमन्त्री पद्मा अर्यालले आँफू मन्त्रालयको जिम्मेवारीमा रहेका बेला सहकारीलाई उत्पादनमा जोड्ने कामको थालनी गरेको दावी गरेकी छन् । शनिबार स्याङ्जाको वालिङमा सञ्चालित अकला साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले गरिखाने किसानले फाइदा पाउनुपर्छ भनेर सहकारीका माध्यमबाट कृषि औजार खरिदमा भन्सार छुटको व्यवस्थासहित उत्पादनमा जोडिने कामको थालनी गरेको बताएकी हुन् ।
देशमा ३४ हजार सहकारी संस्था थिए, कति सहकारी मूल्य र मान्यता अनुसार चलेका थिए त कतिपय सीमित व्यक्तिको फाइदामा केन्द्रित थिए । सहकारी नियमावली जारी गरेर गल्ती गर्नेलाई कार्यवाही र ठीक ढङगले काम गर्नेलाई पुरस्कृत हुनुपर्ने भनेर शेयर सदस्यको सुरक्षणका पक्षमा काम गरेको पूर्वमन्त्री अर्यालको भनाई छ ।
उत्पादनका आधारमा अनुदान पाउनुपर्छ भनेर निर्देशिका बनाएर किसानहरुका पक्षमा भैंसीजोन, मसलाजोन, कागतीजोन लगायतका कृषि उद्यम विकासको सुरुवात भएको अर्यालको भनाई थियो । महिलाले २ प्रतिशत व्याजमा कर्जा पाउने व्यवस्था पनि आँफू जिम्मेवारीमा रहँदा थालनी गरेको उनको दावी छ ।
महिलालाई रुचि अनुसारको तालीम दिएर उद्यम विकासमा जोडिने वातावरण सिर्जना गर्नुपर्ने पूर्वमन्त्री अर्यालको भनाई छ । हाम्रो जीवन कसैले नबदल्ने भन्दै उनले आफ्नो सीप, पौरख र क्षमताबाट बदलिने बताइन् ।
किसानहरुका लागि सहकारी लक्षित कार्यक्रमहरु छन्, त्यहाँ जानुप¥यो । जहाँ पशुपालनमा खोर, गोठ तथा भकारो सुधार, तरकारी किसानका लागि टनेलका कार्यक्रम छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण लगायतका सम्बन्धित निकायमा सम्पर्क गर्न र सचेत रहन किसानहरुलाई उनको सुझाव छ ।
२०७५ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा महिला १ हजार ९ सय २५, पुरुष ५ सय ७५ र अन्य २ जनागरी जम्मा २ हजार ५ सय १२ जना शेयर सदस्य रहेका छन् । कूल ८ करोड ३९ लाख ७६ हजार ९ सय ७ रुपैयाँको कारोवार गरेको संस्थाले २५ लाख ६० हजार ५ सय ९४ मुनाफा गरेको छ । संस्थाले वालिङ नगरपालिकाका साथै गल्याङ नगरपालिकाका वडा नम्वर २, ३, ७ र ८ गरी चारवटा वडामा कार्यक्षेत्र विस्तार गरेको छ ।
कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, गण्डकी प्रदेशका निवर्तमान सांसद मोहन रेग्मी, शेयर सदस्यको तर्फबाट पदमबहादुर खत्री, अनिता बगाले, मेरो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश अर्याल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सञ्चालक समिति सदस्य सावित्री रेग्मीको स्वागतसँगै सुरु भएको कार्यक्रमको सञ्चालन लक्ष्मी पोख्रेल रेग्मी र कार्यवाहक अध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको अध्यक्षतामा भएको थियो भने जैसरा रेग्मीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रतिक्रिया