‘जनतासंग नजिक हुन पाउदाँ खुशी छु’

भगवती रेग्मी अर्याल,
उपप्रमुख,
भीरकोट नगरपालिका,
बयरघारी, स्याङ्जा ।
स्थानीय तह सञ्चालन ऐन–२०७४ ले उपप्रमुखलाई स्थानीय तहमा न्यायिक समितिको मुख्य जिम्मेवारी दिएको छ । योसँगै उपप्रमुखलाई अनुगमन समितिको जिम्मेवारीसमेत रहेको छ । संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले कामको चाप बढेको छ । स्याङ्जाको भीरकोट नगरपालिका अन्य स्थानीय तहको तुलनामा स्रोत, साधन र जनशक्तिका हिसाबले थोरै कमजोर मानिन्छ । भीरकोट नगरपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटनलगायतका क्षेत्रमा भने धनी छ । स्थानीय तहमा नयां जनप्रतिनिधि आइसकेपछि हालसम्म भीरकोट नगरपालिकाले सञ्चालन गरेका योजनाहरु, महिलासम्बन्धी गतिविधि तथा कार्यक्रम, गौरवका योजनाहरु के–के छन् ? यिनै विषयमा आधारित रहेर भीरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालसँग पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः

१. उपप्रमुख जी आराम हुनुहुन्छ ? तपाईंले भीरकोट नगरपालिकाको उपप्रमुख भएपछि के–कस्ता कार्य सम्पादन गर्नुभयो ?

धन्यवाद, नमस्कार । म आरामै छु । नगरबासीको इच्छा, चाहना तथा आवश्यकता अनुसारका योजनाहरु बनाउने कामलाई नै मुख्यरुपमा जोड दियौं । संविधानमा उल्लेखित मौलिक हकको कदर गर्दै नीति तथा कार्यक्रमहरु बनाएर लागू गरेका छौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपप्रमुखलाई दिएको जिम्मेवारी अन्तर्गत ५ वटा विषयगत समितिको संयोजक र ९ वटा विभिन्न समितिमा सदस्यको भूमिकामा रही काम गर्ने अधिकार प्रत्यायोजन गरेको हुँदा सोहीअनुसार कार्यसम्पादन गर्ने गरिएको छ ।

२. भीरकोट नगरपालिकाले विकास निर्माणका कामलाई कसरी अगाडि बढाएको छ ?

भीरकोट नगरपालिकाभित्र रहेका ९ वटा वडाका सबै बस्तीमा सडकको पहुँच पु¥याइएको छ भने बाह्रैमहिना सवारीसाधन गुड्ने गरी सडकको स्तरोन्नति गरिएको छ । ‘एक घर, एक धारा’ को अभियान सञ्चालन गरी खानेपानीको अति समस्या भएको ठांउमा खानेपानी योजना सञ्चालन गरिएको छ । नगरपालिकाको सबै वडा छुने गरी रिङरोडको अवधारणा अघि सारिएको छ भने आंधिखोला नियन्त्रणको लागि काम अघि बढेको छ । अन्य पूर्वाधार लक्षित धेरै विकासका कामहरुलाई अगाडी सारिएको छ । ति सबैको फेहरिस्त यहां संभव नहोला । तर जनताले महशुष हुनेगरी काम गरिरहेका छौं ।

३. न्यायिक समितिमा के–कस्ता मुद्दा आउने गरेका छन् र समाधानका लागि कसरी काम गर्नुभएको छ ?

न्यायिक समितिमा घर–जग्गा, सम्बन्धविच्छेद, लेनदेन, पशुपंक्षीसम्बन्धी, घरायसी झै–झगडा, घरबहाल, गालीगलौज, सीमा विवादलगायतका मुद्दा आउने गरेका छन् । हालसम्म विभिन्न प्रकृतिका ७ वटा मुद्दा न्यायिक समितिमा दर्ता भएकोमा अधिकांश मुद्दा फस्र्यौट गरिएको छ । न्यायिक समितिमा आउने मुद्दाहरु व्यवस्थापनका लागि कार्यक्षेत्रभित्र पर्ने मुद्दालाई फस्र्यौट गर्ने काम गरिँदै आइएको छ । आवश्यक परेमा जिल्ला प्रहरी, अदालत, सरकारी वकिल कार्यालयसँग परामर्श गर्ने, सल्लाह लिने र समन्वय गरेर मुद्दाको किनारा लगाउने काम गरिएको छ । कतिपय मुद्दाहरु मौखिक रुपमा आउने भएकाले त्यस्ता मुद्दाको आन्तरिक रुपमा समस्या समाधानसमेत गर्ने गरिएको छ । पीडित व्यक्तिलाई पहिलो प्राथमिकता दिएर न्याय सम्पादन तथा सहजीकरणको व्यवस्था मिलाएका छौं । न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको समाधान गरीएको छ । अहिलेसम्म कुनै पनि मुद्दा अदालत पठाउनु परेको छैन् ।

४. अहिलेसम्म न्यायिक समितिमार्फत कतिवटा मुद्दा मिलाउनुभयो वा न्याय सम्पादन गर्नुभयो त ?

मैले कार्यसम्पादन शुरु गरेदेखि हालसम्म विभिन्न प्रकृतिका ७ वटा मुद्दा न्यायिक समितिमा आएको हुँदा त्यसमध्ये ६ वटा मुद्दाको किनारा लगाइएको छ । यसमध्ये दुवै पक्षलाई राखेर आवश्यक सल्लाह सुझावसहित मिलापत्र गरी सहज वातावरण निर्माण गरिएको छ ।

५. तपाईं उपप्रमुख हुँदै गर्दा महिला सशक्तीकरणका लागि बजेट, नीति तथा कार्यक्रममार्फत के–कस्ता योजना समावेश गर्नुभएको छ ?

म एक महिला अनि उपप्रमुख भएर काम गर्दै गर्दा महिला सशक्तीकरणका लागि विभिन्न नीति, कार्यक्रम सञ्चालनमा जोड दिएकी छु । भीरकोट नगरपालिकाभित्र पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको छ । नगरपालिका अन्तर्गत ९ वटै वडामा छरिएर रहेका आमा समूहलाई एकीकृत गरी महिला लक्षित कार्यक्रमलाई अगाडि बढाइएको छ । नीति बनाएर महिला समूहलाई एकीकृत गरी महिलालाई क्षमता विकास, कानुनी सचेतना, उद्घोषण तथा भाषण कला, सीपमूलक तालिम, एकल महिला लक्षित तथा अपागंता भएकालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । यसका साथै लैंगिक हिंसा निवारण रणनीति तथा बालविवाह उन्मूलन कार्ययोजना बनाई सोहीअनुसारका बालमैत्री कार्यक्रमलाई जोड दिएका छौं । बालविवाह न्यूनीकरणलाई समेत जोड दिइएको छ ।

६. भीरकोट नगरपालिकामा महिलाको अवस्था कस्तो पाउनुभयो ?

हाम्रो नगरपालिकामा महिलाको अवस्था पहिलेको तुलनामा अहिले सशक्त हुँदै गइरहेको देखिन्छ । महिला स्वयं केही गर्नुपर्छ भनेर अगाडि बढिरहेका छन् । समाजमा हुने विभिन्न विकास निर्माणका योजनाको नेतृत्व गर्ने, संघ–संस्थामा बस्ने, घर व्यवहार, पसललगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रियता बढ्दै गएको छ ।

७. तपाईंको वडाका जनप्रतिनिधिहरुसँग कस्तो सम्बन्ध रहेको छ ?

वडाका जनप्रतिनिधिहरुसँग नजिकको सम्बन्ध रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनले नै स्पष्टरुपमा सबै जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार तोकिदिएको हुँदा सोहीअनुसार हामीले आ–आफ्नो क्षेत्रको काम गर्दै आएका छौं । सरकारको कामलाई जनताको माझमा पु¥याउने हामी सबैको जिम्मेवारी भएकाले सबै वडामा आवश्यक समन्वय, सम्पर्क र सल्लाह गरेर काम–कारबाहीलाई अगाडि बढाइरहेका छौं ।

८. भीरकोट नगरपालिकामा कतिवटा विद्यालय सञ्चालनमा रहेका छन् र सामुदायिक विद्यालय सुधारका योजनाहरु के–के होलान् ?

भीरकोट नगरपालिकाभित्र सामुदायिक विद्यालय कुल ३८ र संस्थागत ६ वटा सञ्चालनमा रहेका छन् । यसका साथै दहथुम र कालिका बहुमुखी क्याम्पस पनि भीरकोट नगरपालिकाभित्रै पर्दछ । सामुदायिक विद्यालय सुधार गर्नका लागि भीरकोट नगरपालिकाको तर्फदेखि विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, नगर क्षेत्रभित्र रहेका मावि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था, महिलामैत्री शौचालय निर्माण, अपांगमैत्री भवन निर्माणमा जोड दिएका छौं । नगरपालिकामा रहेको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत शैक्षिक क्षेत्रसँग सम्बन्धित आवश्यक कार्यक्रम पनि भइरहेका छन् । शिक्षक नभएका विद्यालयमा दरबन्दी मिलान, भौतिक संरचनाको अभाव झेलेका विद्यालयमा भवन निर्माण, खानेपानी योजना तथा शौचालय कोटा आदिमा सहयोग गर्ने गरिएको छ । साथै सामुदायिक विद्यालय सुधार गर्नका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकका बीचमा आवश्यक समन्वय, सहकार्य तथा अन्तरक्रियालाई जोड दिने गरिएको छ । गत शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम बनाएर अध्ययन–अध्यापन गराउने काम भएको छ । नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखामार्फत खास गरी विद्यालयसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई जोड दिइएको छ ।

९. तपाईं उपप्रमुख हुनुभन्दा अगाडि र अहिले जिम्मेवारीसहितको पदमा हुँदा कत्तिको फरक पाउनुभयो ?

अहिले विशेष जिम्मेवारीसहित जनप्रतिनिधि भएर नगरपालिकामा आउँदा धेरै फरक अनुभूतिको महसुस गरेकी छु । उपप्रमुख भएर काम गर्दै गर्दा नगरबासीसँग नजिकिने अवसर पनि मिल्यो । विकास निर्माणका काम, कानुनी विषय, नीति तथा बजेट निर्माणलगायत थुप्रै कामको समेत अनुभव लिन पाइयो । उपप्रमुख भएर काम गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु र आफूलाई भाग्यमानी ठानेकी छु ।

१०. नमुना नगरपालिका बनाउने योजनाबारे केही सोच्नुभएको छ ?

भीरकोट नगरपालिका आफैंमा नमुना छ र यसलाई अझै नमुना बनाउनका लागि हामीले नगरपालिकामार्फत सबै वडाको समुचित विकासको अवधारणा अगाडि सारेका छौं । यस नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । नगरपालिकाको सबै वडाका सडकलाई स्तरोन्नति र केही भाग भएपनि कालोपत्रे गर्ने, विकासे योजनाहरुलाई दिगोपन दिनका लागि डीपीआर तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

११. आगामी योजना के–के छन् ?

विभिन्न हिंसामा पर्ने महिला तथा बालबालिकाका लागि बालमैत्री कार्यक्रम बनाउने, महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तथा आय–आर्जनमूलक कार्यक्रम निर्माणमा जोड, आर्थिक सशक्तीकरण गर्न आवश्यक कार्यक्रम, पर्यटन पूर्वाधार, सडकको स्तरोन्नति गर्ने, पदमार्गहरु बनाउने, पिकनिक स्पोर्ट बनाउने, गडहरे गुफालाई भौगर्भिक अनुसन्धान केन्द्र बनाउने जस्ता धेरै कार्यक्रम तथा योजना रहेका छन् ।

१२. अब ५ बर्षपछी हुने निर्वाचनमा कुन पदमा उम्मेदवारी दिने चाहना छ ?

आगामी निर्वाचनमा अहिलेसम्म फेरि उम्मेदवार बन्नका लागि त्यस्तो कुनै सोच बनाएको छैन । तर, पनि जनप्रतिनिधि भएर जनताको काम गर्नका लागि भने विचार गर्न सकिन्छ । पुन ः उम्मेदवार बन्नका लागि पार्टी र जनताले फेरि पनि विश्वास गरेको खण्डमा जुनकुनै पदमा उठ्न सक्ने सम्भावनासमेत उत्तिकै छ । राजनीति भनेको पनि समाजसेवा भएकाले विकास निर्माण र जनताको काम गर्नका लागि राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन् ।

१३. अन्त्यमा केही भन्नु छ कि ?

सर्वप्रथम त मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाईंलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि हामी नगरपालिकाको विकासमा केन्द्रित भएर लाग्ने नै छौं । भीरकोट नगरपालिकालाई समृद्ध बनाउन आम नगरबासी सबैको साथ र सहयोगको आवश्यकता छ । यसका लागि हामी सबैसँग हातेमालो गरेर अगाडि बढ्नेछौं । अन्त्यमा, मेरो अन्तरवार्ता पढेर रचनात्मक सल्लाह, सुझाव दिनुहोला भन्ने अपेक्षा गर्दछु ।

प्रतिक्रिया