पुर्वाधार भन्दा उत्पादनमा जोड दिनुहोस — सांसद थापा

स्याङ्जा ।
जिल्ला समन्वय समिति स्याङ्जाको आठौं जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभाको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जिल्लाका सबै पालिकाले पूर्वाधार विकासमा भन्दा उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । एक पालिका, एक उत्पादन भन्ने नारालाई आत्मसात गर्दे अघि बढ्न समेत सबै पालिकालाई थापाले सुझाव दिए । मुलुकमा आर्थिक संकट परेका बेला यस्ता अभियानले मुलुकको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने उनको भनाई छ । समग्र जिल्लाको विकासमा समन्वयकारी भूमिकामा रहनेगरी बनाइएको जिल्ला समन्वय समिति सबै पालिकाको अभिभावक रहेको बताए । अधिकार विहिन भएको भनिएपनि समन्वयलाई सबै पालिकाले अभिभावकको रुपमा मानेर समग्र स्याङ्जाको विकासमा एकवद्धता हुन थापाले आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु क्रमश ः भोजराज अर्याल, महेश भट्टराई, कल्पना तिवारी, पंचराम गुरुङ लगायतले समग्र जिल्लाको विकासका लागि एकभई लाग्ने प्रतिवद्धता जनाए । यसैगरी, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, वालिङ् नगरप्रमुख कृष्ण खाँण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, फेदिखोला अध्यक्ष घनश्याम सुवेदी, विरुवाका अध्यक्ष सूर्यवबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, आँधीखोला उपाध्यक्ष सीता थापा लगायतले आ—आफना क्षेत्रगत विकास तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
जिसस प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी स्वागत एवं जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यले संचालन गरेका थिए । बिहिवार भएको बन्द सत्रमा प्रमुख जिटीले बार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए
प्रतिक्रिया