अर्जुनचौपारी र गल्याङ्मा न्यानो कपडा वितरण

स्याङ्जा ।
मुलुकभर चिसो बढेको छ । चिसोका कारण धेरै नागरिकहरुले कष्टकर जिवन विताइरहेका छन् । चिसोबाट बच्न विभिन्न उपायहरु चिकित्सकले सुझावका रुपमा राख्दै आएका छन् । यसैलाई मध्यनजर गरेर अर्जुनचौपारी गाँउपालिका र गल्याङ नगरपालिकामा न्यानो कपडा वितरण गरिएको छ । अर्जुनचौपारीमा दलित उत्तथान केन्द्र र गल्याङ्मा रुजी फाउण्डेसनले न्यानो कपडा वितरण गरेका हुन् । उत्तथान केन्द्रले गाउपालिकामा रहेका अति विपन्न परिवारलाईलाई र फाण्डेसनले विद्यार्थीलाई कपडा वितरण गरेका छन् ।

स्याङ्जा सहयोग समाज अर्जुनचौपारी इकाई कमिटी दोहाकतार तथा अर्जुनचौपारी गाउँपालिकाको बिशेष सहयोगमा प्रत्येक वडामा ५÷५ जना गरि ३० घर अति बिपन्न परिवारका लागि १÷१ सेट ओछ्यान सहित अन्य सामाग्री वितरण गरिएको थियो भने गल्याङ नगरपालिका ८ चण्डिका आधारभुत विद्यालयका विद्यार्थीलाई एक÷एक सेट लगाउने कपडा वितरण गरिएको थियो । छुट्टाछुट्टै कार्यक्रम र पालिकामा चिसोबाट बच्न न्यानो कपाडा वितरण गरिएको छ । न्यानो कपडा वितरण गर्दै अर्जुनचौपारी गाँउपालिकाका अध्यक्ष प्रकाश तिवारीले चिसो मौसममा गरिएको सेवाभावको खुलेर प्रशंसा गरे । बिपन्न वर्ग उत्थानका लागि पालिकाले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउदै पालिका अध्यक्ष तिवारीले विपन्न वर्ग उत्थानका लागि अहिले पालिकाले निशुल्क स्वास्थ्य बिमा, निशुल्क एम्बुलेन्स सेवा, जनप्रतिनिधिको सेवा सुबिधा कटौती गरि त्यसैबाट खर्च गर्ने विपन्न वर्ग कल्याणकारी कोष देखि लिएर अरु धेरै कार्यक्रमहरु संचालन गरिएको जानकारी दिए ।

अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत, स्याङ्जा सहयोग समाज अर्जुनचौपारी इकाई कमिटी दोहाकतारका कोषाध्यक्ष रेशम नेपाली, वडा नम्वर १ का वडा अध्यक्ष रण बहादुर थापा, वडा नम्वर २ का अध्यक्ष धनबहादुर गुरुङ, वडा नम्वर ३ का अध्यक्ष शोभकान्त काफ्ले, वडा नम्वर ४ का वडा अध्यक्ष भुवनसिङ गुरुङ, वडा नम्वर ५ का अध्यक्ष बद्री पौडेल र वडा नम्वर ६ का अध्यक्ष नारायण ढकालले दलित उत्थान केन्द्रले गरेको कार्यक्रमको सफलताको कामना गर्दै आफुहरुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । स्थानीय समाजसेवी टुकराज अर्यालको पहलमा न्यानो कपडा वितरण गरिएको दिपक विश्वकर्माले बताए ।

यता देशमा चिसो बढेसंगै शिक्षण क्रियाकलापनमा प्रभाव पर्न सक्ने र विशेष गरेर दलित र जनजातिहरुको बाहुलयता भएको बस्तीका बालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको फाउण्डेशनका संरक्षक तथा गल्याङ नगरपालिकाका पूर्व नगर प्रमुख भूपराज अधिकारीले बताए । संरक्षक अधिकारीले आफ्नो आमा र वुवाको नाममा स्थापना गरिएको फाउण्डेसनको ब्याजबाट आफ्नो वडाभित्रको अति विपन्न बालवालिकाहरुका लागि पहिलो अभियानको थालनी गरेको बताए । सबै बालवालिकाले शिक्षा पाउनु पर्ने र शिक्षाबाटै मुलुक समृद्व बनाउन सकिने भएकाले शिक्षालाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह समेत गर्दै भोलिका दिनमा अन्य विद्यालयहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८ का वडा अध्यक्ष झिम बहादुर थापा, पूर्व वडाअध्यक्ष भेक प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा शिशु देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले र कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव एवम् विद्यालयका शिक्षक टिकाराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया