हचुवाको भरमा नीति नियम बनाउँदा धेरै व्यवसायी मर्कामा परेः सांसद राजु थापा

भवानी अधिकारी
स्याङ्जा ।

जिल्लाको क्षेत्र नं. १ का संघिय सांसद राजु थापाले हचुवाका भरमा केही नजिकका ब्यक्तिलाई मात्र समेटेर यातायातका नीति नियम बनाउँदा धेरै ब्यवसायी मर्कामा परेको दाबी गरेका छन् । स्याङ्जा गण्डकी यातायात प्रालिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन उद्घाटन गर्दै संघिय सांसद थापाले ब्यक्तिका निजी लगानीमा अरबौं रकम लगानी गरेर राज्यलाई धेरै कर तिर्ने व्यवसायीलाई राज्यको दृष्टिकोण सकारात्मक नभएको बताए ।
उनले यातायातमा धेरै विसंगती हुँदा पनि राज्य मुकदर्शक बनेको भन्दै ब्यवसायीबीचको एकता र भाइचारा सम्बन्धले संस्था क्रियाशिल रहने बताए । ‘काठमाडौंका बसपार्कमा गण्डकी यातायातका सवारी साधनले सहजै छिर्न नपाउने अवस्था अझै छ । राज्यलाई कर तिरेर पनि स्वतन्त्रपूर्वक संचालन गर्न नपाउनु राज्यको गैरजिम्मेवारपन हो ।’ व्यवसायी संगठीत भएर मात्र संस्था बचेको उनको भनाई छ । थापाले आफु संघिय सांसद भएकाले अब बन्ने ऐन नियममा यातायात ब्यवसायीका हक, हित र अधिकारका पक्षलाई ध्यान दिदै यातायात व्यवसायमैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमममा राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विजयराज स्वार, गण्डकी प्रदेश निवर्तमान सांसद भागवतप्रकाश मल्ल, महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, राष्ट्रिय यातायात ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेल, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, अखिल नेपाल स्वतन्त्र मजदूर संगठन गण्डकी प्रदेशका अध्यक्ष बिष्णु खत्री, अखिल नेपाल यातायात मजदूर संगठनका गण्डकी प्रदेश अध्यक्ष सूर्यभक्त पौडेल लगायतले यातायात ब्यवसायीका अवस्थाका बारेमा आ आफ्ना धारणा सहित समय सापेक्ष ऐन कानूनको आवश्यकता रहेको औल्याए । सभामा गण्डकी यातायात प्रालिका अध्यक्ष पुष्प पोखरेलले अध्यक्षको प्रतिवेदन र महासचिव भानुभक्त बरालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न ब्यक्तिलाई समेत पुरस्कृत एवं सम्मान गरिएको छ ।

 

प्रतिक्रिया