स्याङ्जाको शीत भण्डारणमा राखेका सुन्तला कुहिन थाले

पब्लिक आवाज
स्याङ्जा ।
जिल्लाको पुतलीबजार नगरपालिका ११ जैसीडाँडास्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका छन् । सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ । बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शीत भण्डारण गरेका हुन् । यस वर्ष मंसिर १४ गते पहिलो पटक राखिएका सुन्तला मध्ये एक प्रतिशत सुन्तला बिग्रीएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिए ।
विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए । तीमध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको हमालले बताए । बिग्रेका ती सुन्तलालाई छुट्टाएर फाल्ने काम भैरहेको हमालको भनाई छ ।
शीत भण्डारण गर्नु भन्दा पहिला यहाँका सुन्तला किसानलाई सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, क्रेटमा मिलाएर भर्ने र आवश्यकता अनुरुप सफा गर्ने लगायतका विविध कार्य गर्न सुझाएको प्रमुख हमाल बताउँछन् । सुन्तला बिग्रन थालेपछि सुन्तला बाली अनुसन्धान केन्द्र (नार्क) धनकुटाका विशेषज्ञ डा. उमेश आचार्यसहितको प्राविधिक टोली आई स्थलगत अनुसन्धान सुरु गरेको छ ।
गतवर्ष पनि २० टन सुन्तला भण्डारण गरिएकोमा आधाजसो कुहिएका थिए । फल टिप्दा, भण्डारण गृहसम्म ल्याउँदा र भण्डारणमा राख्दा विशेष सुरक्षासहित ध्यान दिन पर्नेमा सो नपुगेका कारण फल बिग्रन थालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ । यसवर्ष स्याङ्जामा सुन्तला उत्पादन बढेको छ । स्याङ्जामा यस वर्ष झण्डै सवा अरब मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशतले बढी उत्पादन भएको अनुमान छ ।
गतबर्ष ७० करोडको सुन्तला उत्पादन भएको थियो । यसवर्ष पनि अनुकुल मौसमी वातावरणका कारण उत्पादन बढेको छ । तर, चैत्रमा बेच्ने भनेर कोल्डस्टोरमा राखेको सुन्तला कुहिन थालेपछी सुन्तलाको बजार भने खुम्चिने भएको छ । जिल्लाको मुख्य उत्पादन सुन्तला हो । सुन्तलावाटै वर्षेनी करोडौं रुपैयाँ भित्रिन्छ । जिल्लाका ११ पालिकामध्ये केही वडाबाहेक सबैमा सुन्तला फल्छन् । सुन्तलाका लागि उपयुक्त हावापानी मिलेको कारण जिल्लामा सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ ।

प्रतिक्रिया