एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा

पब्लिक आवाज
वालिङ ।
स्याङ्जाको वालिङ खेलमैदानमा जिल्लाकै ठुलो धनराशिको वालिङ गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता संचालनमा छ । बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो ।
उक्त खेलमा वालिङ निलोका लागि अजय मार्टिन्सले निर्णायक गोल गरेका थिए । विजयी वालिङ निलोले शनिबार विदेशी टिम एभिनियर फुटबल क्लव क्यामरुनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बुधबारको खेलमा वालिङ युनाइटेडका विश्वास श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । बिहीबारको दोस्रो सेमिफाइनल खेल वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भएको थियो । विदेशी टिम एभिनियर क्लव वालिङ युनाइटेड रातोलाई हराउदै फाइनलमा प्रवेश गरेको छ ।
वालिङ युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकप स्याङ्जाकै सर्वाधिक राशिको प्रतियोगिता हो । शनिबार फाइनल खेल हुनेछ । हालसम्म लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौँ, आयोजक वालिङ युनाइटेड रातो र एपिएफ फुटबल क्लब काठमाडौँ प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा उपाधि जित्ने टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
वालिङको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन गोल्ड कपले सहयोग पुग्ने अपेक्षा गरिएको छ । वालिङ खेलमैदान संरक्षण गर्दै वालिङ गोल्ड कपलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष एलबि ज्वारचनले बताए । क्लबका अध्यक्ष ज्वराचने भने, ‘‘जिल्लामै सर्वाधिक राशि तथा गण्डकी प्रदेशमै तेस्रो ठुलो धनराशिको यो फुटबल प्रतियोगिताले आम खेलाडि तथा वालिङको पहिचालाई उच्च राख्नेछ ।”
अध्यक्ष ज्वारचन भन्छन्, “हामीले यस प्रतियोगितालाई निरन्तरता दिनेछौँ । महिला राष्ट्रिय फुटबल प्रतियोगिता समेत गरिसकिएको वालिङ खेलमैदानको संरक्षण र दिगोपनालाई पनि हामीले प्रथामिकतामा राखेका छौँ । साथै जेष्ठ नागरिकहरुको शारिरिक व्यायामका लागी पनि हामीले यो प्रतियोगिताबाट बचेको रकमबाट केहि रकम छुट्याएर केहि व्यवस्थापन गर्नेछौँ ।” प्रतियोगिताका लागी २५ लाख खर्च हुने आयोजकले जनाएका छन् । प्रतियोगिताका लागी वालिङ नगरपालिकाले ३ लाख तथा स्थानीय व्यापारी व्यवसायी, देश विदेशमा रहेका वालिङ तथा स्याङ्जाबासीले सहयोग गरेका छन् ।

प्रतिक्रिया