विना सूचना खेल मैदानमा हेलिकप्टर अवतरण

वालिङ ।
प्रभु हेलिकप्टरले स्याङ्जाको वालिङमा भइरहेको अन्तर्राष्ट्रिय स्तरको वालिङ गोल्डकपमा ताण्डव मच्चाएको छ । वालिङमा फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा मदिरा पिएर खेल मैदानमा नै हेलिकप्टर अवतरण गरेपछि फुटबल मैदान रणभूमिमा परिणत भएको थियो । खेल चलिरहेका बेला स्थानीय विनोद गैरे र हेलिकप्टर चालक रनेश डंगोलले पोखराको एक होटलमा अनियन्त्रित रुपमा मदिरा सेवन गरी खेल हेर्न प्रभु कम्पनीको हेलिकप्टर लिएर वालिङ पुगेका थिए । सुरुमा खेल मैदान नजिकै रहेको पूर्णामृत भवानी माविमा उक्त हेलिकप्टर अवतरण गर्न खोजिएको थियो । तर, पाइलट नसामा चुर भएकाले विद्यालय हातामा अवतरण गराउने कार्य सफल हुन सकेन ।
अवतरण हुन नसकेर अनियन्त्रित भइरहेको हेलिकप्टर पाइलटले खेल भइरहेको मैदानमा लगेर धसारेका थिए । अचानक रुपमा खेल भइरहेको ठाउँमा हेलिकप्टर अवतरण हुँदा सबै आश्चर्य चकित भएका थिए । तर, केहिबेरमा नै उक्त हेलिकप्टरबाट गैरे र हेलिकप्टर चालक मातेर लरबराउँदै जथाभावी अपशब्द प्रयोग गर्दै बाहिर आएपछि एकाएक तनाव उत्पन्न भएको थियो । गैरे र चालकले एमाले सांसद देवी भट्टचनको नाम लिँदै हाम्रो अनुमति बिना कसले खेल खेलाएको भन्दै खेल रोक्ने धम्की दिएपछि हानाहान सुरु भएको स्थानीयवासीले बताए । खेल खेलिरहेका खेलाडी र दर्शकले गैरे र चालकलाई पिट्न थालेपछि गैरे त्यहाँबाट फरार भएको स्थानीयको भनाइ छ । चालक पनि फुत्केर हेलिकप्टरमा चढी भागेका थिए । खेल चलिरहदा प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएपछि झडप भएको हो ।
स्थानीयको कुटाइपछि पाइलटसहित गैरे र अरु हेलिकप्टरमा त्यहाँ पुगेका सबै सामान्य घाइते भएका थिए । झडप भएपछि वालिङबाट उनीहरु भागेका हुन् । प्रहरीको सुरक्षापछि केहीबेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । यता, कम्पनीले भने यो घटनाप्रति कुनै प्रतिक्रिया दिएको छैन् । हेलिकप्टर आकस्मिक अवतरण नभई गैरेको बलजफ्तीमा मैदानमा अवतरण गरिएको पाइलटले बताएको स्थानीयको भनाई छ । केहि समय झडपको स्थिति बनेपनि केहिबेर पछि स्थिति सामान्य भएर खेल सुचारु भएको थियो ।
प्रभु कम्पनीको हेलिकप्टर बिना अनुमति मात्र गएको थिएन । चालक मदिराले लठ्ठसमेत परेका थिए । यसरी स्थानीयको प्रयासमा प्रभु समूहको लापर्वाहीले वालिङमा हुन लागेको ठूलो दुर्घटना टरेको छ । यस्ता कम्पनीले राखेका सेवाका साधन र तिनको प्रयोगका लागि राखिएका व्यक्तिहरुमााथि निगरानी नगर्दा देशमा ठुला ठुला घटनााहरु घटेका छन् । माघ १ मा मात्रै यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाउन पुगेका छन् । यतीबेला प्रभुको हेलिकप्टर पनि ठूलो दुर्घटनाबाट बचेको छ । स्थानीयले यसरी लापरवाही गर्ने कम्पनी र चालकमाथि कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । उक्त हेलिकप्टरको क्याप्टेन रनेश डंगोल रहेको र उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल कारवाही गर्नुपर्ने माग स्थानीय र खेल आयोजकको छ ।
खेल आयोजक समितिका अध्यक्ष एलबी ज्वारचनले खेल चल्दाचल्दै अचानक हेलीकप्टर अवतरण गरेर खेल बिथोल्न खोजेको आरोप लगाएका छन् । स्थानीय प्रशासनसंग अनुमति नलिई मान्छेको भिडमा के कारणले अवतरण गर्नुपरेको भनेर नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुशार उड्डयन प्राधिकरणले उनीहरुलाई कारवाही गर्नेछ ।

प्रतिक्रिया