‘ईमान्दारीता र इच्छाशक्ति भए काम गर्न सकिन्छ’

घनश्याम गौतम,
कार्यालय प्रमुख,
ईलाका प्रशासन कार्यालय,
वालिङ, स्याङ्जा ।
ईलाका प्रशासन कार्यालय वालिङमा पछिल्लो समय कार्यालयबाट प्रबाह हुने सेवा तथा गुणस्तरमा व्यापक सुधार भएको देखिन्छ । सेवाग्राहीहरु अहिले कार्यालयको सेवाबाट सन्तुष्ट रहेको पाइएको छ । हाल यस कार्यालयको प्रमुख छन्, घनश्याम गौतम । गौतमले ०७९ जेठ महिनाको ९ गते देखि यस कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । सानै उमेरमा निजामती सेवामा प्रवेश गरेका छिमेकी जिल्ला पर्वत निवासी गौतमले २६ बर्षे निजामती सेवाको अनुभव समेत हासिल गरिसकेका छन् । यो वेला लामो अनुभव र जाँगरले ओतप्रोत गौतमले ईलाका प्रशासनमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गरिरहेका छन् । ईलाका प्रशासनको सेवा प्रवाह र अन्य समसामयिक परिवेशमा रहेर पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख गौतमसंग गरेको कुराकानीको सार संक्षेप ः

१ . हाकिम साव आराम हुनुहुन्छ ? ईलाका प्रशासन कार्यालय वालिङमा प्रमुखको जिम्मेवारी लिएर आएपछी यहाँको वातावरण कस्तो लाग्यो ?

हार्दिक धन्यवाद नमस्कार, आरमै छु । निजामती सेवामा प्रवेश गरेसगै विभिन्न कार्यालयहरुमा सेवा प्रदान गर्ने अवसर मिल्यो । सोहि सिलसिलामा २०७९÷२÷९ गते देखि इलाका प्रशासन कार्यालय वालिडमा कार्यरत छु । सेवाग्राहीको चाप वढी, सागुरो भौतिक संरचना भएपनि सहयोगि÷ मर्यादित सेवाग्राहीका कारण सेवाप्रवाह सहज नै भएको छ । सिमित स्रोत र साधनको परिप्रेक्ष्यमा पनि अधिकतम सेवा प्रवाह गर्न पाउदा यहांको वातावरण रमाइलै लागेको छ । समग्रमा सेवा प्रवाह प्रणलीमा ईलाका प्रशासनमा प्राप्त गरेको जिम्मेवारीलाई अवसर र चुनौती दुवै रुपमा लिएको छु ।

२. ईलाकाको प्रशासन, सेवा प्रवाह र जनजीविकाका सवालमा अव यहाँका प्राथमिकताहरु के के होलान् ?

इलाका प्रशासन कार्यालयवाट प्रदान गरिने सेवाहरु प्रमुख जिल्ला अधिकारीज्यूवाट अधिकार प्रत्यायोजन भए वमोजिम सम्पादन हुने गर्दछन । भारतीय पेन्सन सम्वन्धि सेवा बाहेक अधिकांश सेवाहरु यसै कार्यालयवाट सम्पादन हुने गरेका छन । छिटो, छरितो र गुणस्तरिय सेवा प्रदान गर्नु नै कार्यालयको प्रथामिकता हो । प्रविधिमैत्री र त्रुटिरहित सेवा प्रवाह नै मेरो प्राथमिकतामा रहेका छन् र सोही अनुशार कार्यसम्पादन समेत गरिएको छ । कार्यालय प्रमुखको हैसियतले सोहीअनुशार सक्रिय रहेको अवगत गराउन चाहन्छु । सेवाग्राहीका आफ्नै खालका गुनासाहरु छन् । ति गुनासाहरुलाई यथाशक्य सम्वोधन गर्ने प्रयास समेत गरिएको छ ।

३. भाडाका साघुरा कोठाहरुमा कार्यालय संचालन अनि जिल्ला प्रशासनमा भन्दा बढी सेवाग्राहीहरुको चाप । यो अवस्थामा सेवाप्रवाहको काम कसरी अघि बढिरहेको छ ? यसको सेवाक्षेत्रको बारेमा पनि केही भनिदिनुस् न ?

ईमान्दारीता र इच्छाशक्ति भए काम गर्न स्रोत साधनले छेक्दैन् । कार्यालय समयलाइ मात्र सेवा प्रदान गर्ने समय मान्दा स्थानीय प्रशासनका कुनै पनि कार्यालयमा सेवाग्राहीको चाप थेग्न सकिदैन । कतिपय दिनमा विहान ७ः०० वजे देखि वेलुका ७ः०० वजे सम्म पनि काम गरेका छौ भने अत्याधिक चाप भएको समयमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा कर्मचारी थप गरि सेवाग्राहीलाई सोही दिन सेवा उपलव्ध गराइएको छ । हामीलाई अप्प्ठयारो पर्दा वालिङ नगरपालिकाले पनि अधिकांश समय कर्मचारी पठाइ सहयोग गरिरहनु भएको छ । अब हाम्रो आफ्नै प्रशासकीय भवन बन्दैछ । त्यसपछी सेवा प्रवाहमा अझ सहज हुने अपेक्षा गरिएको छ । हामी यस इलाकाको क्षेत्र भित्र साविकका ३१ गा.वि.स. हाल चापाकोट नगरपालिका (१० वडा), गल्याङ न.पा.(११ वडा), वालिङ न.पा. (१४ वडा), कालीगण्डकी गाउपालिकाको (७ वडा), भिरकोट नगरपालिकाको ३ वडा ( वडा नम्वर ४, ५ र ९) हरिनास गाउपालिकाका ३ वडा ( ६, ७ र ८ ) तथा विरुवा गाउपालिकाका ३ वडा ( ५,६ र ७ ) गरी जम्मा ५१ व्टा वडा कार्यालयको कार्य यस कार्यालयवाट हुने गरेको छ । जिल्लाका ९८ वडामध्ये ५१ वटा वडाको काम यही कार्यालयबाट हुने गर्दछ ।

४. हुन त अहिले ईलाका प्रशासन कार्यालय, वालिङले सेवा प्रवाहमा धेरै सुधार गरिसकेको छ । तर पनि नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरुमा झन्झट कायमै छ । अझै पनि ईलाका प्रशासन कार्यालयमा सेवा लिन लामो लाईन बस्नुपर्छ भन्छन् । किन यस्तो हुन्छ ?

नागरिकता, विविध प्रमाणित, राहदानी लगायतमा सामान्यत ः लाइन वस्नु पर्दैन । राष्ट्रिय परिचय पत्रको सवालमा वडा कार्यालयमा टोलि जादा धेरैले विवरण दर्ता नगरेका कारणले सेवाको चाप अलि बढी भएको नै छ । लाइन वस्नु पर्ने वाध्यता भएतापनि हाल आएर सोही दिन नै सेवा प्रदान गरिएको छ । थोरै जनशक्तिका बावजुद पनि हामीले सेवा प्रवाहमा कुनै कमि हुन दिएका छैनौं । अहिले सबै सेवाग्राहीले सहज र सरल सेवा प्राप्त गर्नुभएको छ ।

५. तपाईहरुले यी सेवाप्रवाहमा सुधारका लागि माथिल्लो तहमा कुरा उठाउनु भएको छैन् ?

कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेकोले छिट्टै नयाँ भवनवाट सेवा प्रवाह हुनेछ । दरवन्दी थपका लागि मन्त्रालयवाट प्रकृया अगाडी वढी रहेको अवस्था छ । माथिल्लो तहमा कुरा पुगेको छ । हामीले प्रदान गर्ने सेवा प्रवाहमा सुधार ल्याउन माथिल्लो तहमा मैले कुरा उठाएको छु ।

६. कार्यालय प्रमुखहरु ६ महिना वर्ष दिनमै सरुवा हुने परिपाटीेले प्राथमिकतामा राखेका कामहरु कार्यान्वयनमा असर परेको देखिन्छ नी ?

सरुवा नियमति प्रकृया हो । हाम्रो कार्यप्रकृति नियमित काम मात्र हुने हुनाले कोही कसैको सरुवाले कार्य सम्पादनमा खासै असर गर्दैन जस्तो लाग्छ । कार्यालय प्रमुख छिटो छिटो सरुवा हुदां आशिंक प्रभाव पर्न सक्छ । सरुवा भएर जो आएनि सिष्टममा काम हुने हो ।

७. यस कार्यालयमा कर्मचारी व्यवस्थापन फितलो देखिन्छ जस्तै समयमा उपस्थित नहुने दरवन्दी अनुसारका पुरा कर्मचारी कार्यालयमा नहुने जस्ता समस्या व्यवस्थापनमा यहाँको पहल कस्तो रहला ?

मेरो करिव ८ महिनाको वालिङ वसाइले कर्मचारीको नियमितता, समय पालना जस्ता कुराहरु कार्य व्यस्तताले नै निर्धारण गर्ने जस्तो लागेको छ । सवै कर्मचारी समयमा नै आउने कार्यालय समय पछि सम्म पनि काम गर्ने हुनाले कर्मचारीलाइ सोध्न पर्ने मानेर यो प्रश्न राख्नु भयो कि जस्तो लाग्छ मलाइ त । यस कार्यालयमा कर्मचारी व्यवस्थापन फितलो छैन् । जनगुनासो नआउने गरी पारदर्शी रुपमा काम गर्ने मेरो प्रयास छ ।

८. ईलाका प्रशासनमा मुस्कान सहितको सेवा, डिजिटल प्रविधि जस्ता विषय यस अघिका कार्यालय प्रमुखहरुले अघि बढाएका विषयहरु हुन् अव यहाँको पनि त्यस्तो छुट्टै कुनै प्राथमिकताको विषय छ की ?

नागरिक सेवालाइ प्रविधि मैत्रि वनाउने, गृह मन्त्रालयको नीति अनुसार नियमित रुपमा प्रविधिमैत्रि हुदै आएको अवस्था छ । सेवा सबैलाई बराबरी, हामी जिम्मेवार कर्मचारीको निति अनुशार हामी अघि बढेका छौं । मैले ईलाका प्रशासनमा बस्दै गर्दा जिम्मेवार प्रशासकको छवि बनाउने छु ।

९.धेरैजसो हाकिमहरु शासक बन्न खाजे भन्ने आरोप छ नि । तपाई कस्तो खालको हाकिम, सेवक कि शासक ?

यो त सेवाग्राही वा यहाँहरुले गर्ने मूल्याङकन गर्ने हो । मलाइ लाग्छ म जसको कोही छैन उसको लागि कार्यालय छ भन्ने भावनाका साथ काम गरेको छु जस्तो लाग्छ । म शासक हैन सेवक हुं । मैले सेवा प्रवाहलाई सरल बनाएको छु ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

हाम्रीले प्रदान गर्ने मुख्य सेवा नागरिकता वितरण नै हो । त्यसैका आधारमा अन्य सेवा उपलव्ध हुने हुदाँ नागरिकता लिन आउदा वडा कार्यालयवाट आफ्नो विवरण एकिन गरि आउनका साथै कार्यालयको काममा कुनै समस्या परे कार्यालयका कर्मचारी वा कार्यालय प्रमुखलाइ सम्पर्क गर्न पव्लिक आवाज मार्फत अनुरोध गर्दछु । सेवाको वारेमा बुझ्न चाहनेले कार्यालयको सम्पर्क नम्वर ०६३–४४१३४४ वा मोवाइल नम्वर ९८५६०५४४३५ कार्यालय प्रमुख र सूचना अधिकारी ९८५६०६४८०० मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु । कुनै समस्या परेमा हामी सदैव तयार छौं । कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्ने क्रममा म कही कतै चुक्ने छैन भन्दै यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया