एकरातमा दर्जनौ ठाँउमा चोरी

स्याङ्जा ।
स्याङ्जामा एकैरात दर्जनौ ठाँउमा चोरी भएको छ । एकैरात एउटै वडामा १३ ठाँउमा चोरी भएको प्रहरीले जनाएको छ । यो चोरीको घट्ना स्याङ्जामा सम्ववत पहिलो भएको हुनसक्ने अनुमान गरिएको छ । आँधीखोला गाँउपालिका १ स्थित राजस्वार देखि धारु सम्म झण्डै २ किलोमिटर भित्रका ठाँउहरुका घर, गुम्बा, वडा कार्यालय, सहकारी र पसलहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिए । उनका अनुसार वडा कार्यालय, एक गुम्बा, एक सहकारी र ८ ओटा नीजिघर सहित केही पसलहरुमा चोरी भएको हो ।

मुलुककै पहिलो होमस्टे रहेको शिरुवारीमा चोरी हुनथालेपछि त्यहाँ आउने पर्यटकका लागि समेत असुरक्षित महशुष गर्ने बताइएको छ । चोरी गर्ने समुह ठुलो भएको हुनसक्ने आंशका प्रहरीले गरेको छ । मुख्य गरेर सुनका गहना र नगद चोरी भएको देखिएको छ । चोरले चोरी गरेको मार्ग हेर्दा अधिकांश गुरुङ् समुदायको बसोबास रहेको क्षेत्र हो । यहाँ बौद्ध गुम्बा देखि ठुला र साना गरी बहुमुल्य पर्ने मुर्तिहरु समेत रहेका छन् । तर मुर्ति चोर्नेमा भन्दा पनि गरगहना र नगदमै चोरी गर्ने व्याक्तिहरुको ध्यान गएको प्रहरीले जनाएको छ ।

चोरी गर्नेले साढे १० तोला सुनका गरगहना, ३ लाख ३६ हजार नगद लगेको बताइएको छ । पुर्णबहादुर गुरुङको घरबाट सुनका गरगहना सहित २ लाख ५० हजार नगद चोरी भएका छ भने वडा कार्यालयबाट नगद, पुर्णबहादुर वगालेको घरबाट सीसीटिभी, मोनिटर र सिपियू गंगाधर ढकालको किरानापसलबाट ७ हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार, लक्ष्मी शर्मा फेन्सीबाट ७ हजार, कृष्ण पौडेलको पसलबाट ७ हजार चोरी गरेर लगेका छन् । त्यस्तै मित्रलाल अधिकारी र दिगो बहुउदेश्यीय सहकारीबाट १÷१ हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेर लगेको प्रहरीले जनाएको छ ।
चोरी भएको स्थानमा प्रहरी परिचालन गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजीबहादुर बस्नेतले जानकारी दिए । प्रहरीले अनुसन्धान थालेको छ उनले भने,‘चोरीमा संलग्न छिट्टै पक्राउ हुने विश्वास लिएका छौं ।’ जानेबुझेकै मान्छेबाट चोरी भएको अनुमान हामीले लगाएका छौं त्यसैले चोरीमा रहेका मान्छे पक्राउ चाडै हुनेछन् उनले भने । एकै रात धेरै ठाँउमा चोरी भएकाले प्रहरीलाई अनुसन्धान गर्न समय लाग्ने भएपनि चोर पक्राउ गर्न प्रहरी सफल हुने विश्वास प्रहरी प्रमुखको छ ।

प्रतिक्रिया