कालीगण्डकीको शिला अयोध्या पुग्यो
स्याङ्जा ।
नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला (शालिकग्राम) भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगेको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला अयोध्या लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि अयोध्या पुगेको छ ।
अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला लिएर गएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए ।
ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्राएको बताइएको छ । शिलालाई राम सेवकपुरममा राखिएको छ भने विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए ।
ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि देवशिला ग्रहण गर्ने बताए । उनले आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्ने उनले बताए । गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्या लगिएको बताइएको छ । म्याग्दीबाट शिला प्रस्तान गरेपछि नै यसको चर्चा हुदै आएको थियो ।
प्रतिक्रिया