‘विपन्नको सहारा बन्दै उत्थान केन्द्र’

स्याङ्जा ।
अहिले कतिपय संघसंस्था सामाजिक उत्रदायीत्व भन्दा पनि कमाउने धन्दामा केन्द्रित छन् । नाम सामाजिक तर काम कमाउने तर्फ अग्रसरता देखिने हुँदा सामाजिक संघसंस्थाप्रति नागरिकको बितृष्णा बढ्दै जान थालेको छ । संघसंस्था, युवा क्लव, विभिन्न समुह दर्ता गरी बार्षिक प्रतिवेदन समेत नगरेर नक्कली अडिट देखाउदै नविकरण गरेका घट्नाहरु प्रशस्त देखिन्छन् । तर आफ्नै समुदायको उत्थानका लागि स्थापना गरेको दलित उत्थान केन्द्र अर्जुनचौपारी गाउँपालिकाले छोटो समयमा उदारणिय कार्य गरेको छ । छोटो समयमा सहयोग जुटाउदै गाँउपालिका भित्र रहेका दलित समुदायमा पनि अति विपन्न परिवारलाई उत्थान केन्द्र सहारा बनेको छ ।

केन्द्रले शुक्रवार ७० बर्षिय एकल महिलालाई घर र शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । अर्जुनचौपारी गाँउपालिका ४ स्थित अकैको घरमा बस्दै आएकी सहारा बिहिन एकल महिला पुर्णकुमारी बि.क. लाई घर, शौचालय सहित बिजुली पानीको व्यवस्था सहित चापी हस्तान्तरण गरेको हो । गाँउपालिकाका प्रमुख प्रकाश तिवारी, उपप्रमुख सपना गुरुङ, वडा अध्यक्ष भुवन सिं गुरुङको उपस्थितीमा घरको चापी हस्तान्तरण गरिएको दलित उत्थान केन्द्र गाँउपालिकाका अध्यक्ष दिपक बि.क.ले जानकारी दिए । पुर्णकुमारीको छोरा भएपनि बेपत्ता रहेका छन् । पुरानो घर मर्मत गर्न नसकेर भत्किएपछि अर्कैको घरमा सहारा लिएर बसेकी पुर्णकुमारीलाई केन्द्रको सहयोगमा घर निर्माण गरी उनलाई सारिएको विकले बताए । सोही दिन बिजुली बत्ती जोड्न नसकेर अध्यारोमा बसेकी सुनार टोलकी ६७ बर्षिय एकल महिला बिष्णुमाया सुनारालाई बत्तीको व्यवस्थापन गरिएको उत्थान केन्द्रले जनाएको छ । घर र बिजुली बत्ती पाएपछि निकै खुशी देखिएका दुई एकल महिलाले यो समाजमा पनि अनुदार मान्छे रहेछन् भन्दै खुशी व्यक्त गरे ।

सहारा, भरोसा नभएका, अभिभावक गुमाएका बालवालिकालाई गाँसबास र शिक्षा प्रदान गर्ने उदेश्य राखेर स्थापना गरेको उत्थान केन्द्रले गरेको यो कार्य भने दोस्रो हो । यसभन्दा अगाडी केन्द्रले गाँउपालिकाभित्र न्यानो कपडा वितरण गरेको थियो । हामी अति विपन्न र अभिभावक गुमाएका बालवालिकाको तथ्याङ्क संकलन गर्ने अभियानमा छौं अध्यक्ष विकले भने,‘सहारा विहिनलाई यो संस्था सहारा बन्ने प्रयत्नरत छौं ।’ स्थानीय, प्रदेश र संघिय सरकार सगै विभिन्न सामाजिक अभियान्ताहरु सगँको सहयोग र सहकार्यमा यस्ता नागरिकको उत्थानमा जुट्ने हाम्रो प्रयास हो उनले भने ।

उत्थान केन्द्रले हस्तान्तरण गरेको कार्यक्रममा पुगेका पालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले गरेको कामको उच्च मुल्यांकन हुने बताए । पालिकाले गरिब तथा बिपन्न वर्ग उत्थानको लागि जनप्रतिनिधिको सेवासुविधा कटौती गरी कल्याणकारी कोष निर्माण गरेको बताए । यो कोषले यस्ता दिनदुखी, सहारा विहिन र अभिभावक गुमाएका बालवालिकाको शिक्षा, स्वास्थ्यमा काम गर्ने अध्यक्ष तिवारीले बताए । उत्थान केन्द्र सगँ सहकार्य गर्दै पालिका र कल्याकारी कोषले नागरिकको विपद्मा जोडबलका साथ काम गर्ने प्रतिवद्धता तिवारीले व्यक्त गरे । दलित उत्थान केन्द्रले अहिले सम्म संकलन गरेको रकम र सहयोगदाताको बिषयमा सार्वजनिक गरेको सचिव कुमार सुनारले जानकारी दिए ।

प्रतिक्रिया