भेषजविन्दु साहित्यिक पुरस्कारबाट साहित्यकार विश्वप्रेम सम्मानित
वालिङ ।
भेषराज साहित्य प्रतिष्ठानले दुईजना साहित्यकारहरुलाई सम्मान गरेको छ । साहित्य क्षेत्रमा निरन्तर योगदान गरेको भन्दै साहित्यकारलाई नगद, सम्मान पत्रसहित सम्मान गरेको हो । वालिङ ११ पेखुस्थित भेषजराज शर्माकै निवासमा भएको कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी यो वर्षको भेषजविन्दु साहित्यिक पुरस्कारबाट नगद रु. १० हजारसहित सम्मानित भएका हुन् । यसैगरी भेषजराज साहित्य सम्मानबाट जगत्रदेवी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा साहित्यकार नारायणप्रसाद ज्ञवाली सम्मानित भएका छन् । साहित्य क्षेत्रमा पुराएको योगदानको उच्च कदर गर्दै भेषराज साहित्य प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
उक्त अवसरमा बर्दघाट नगर प्रज्ञा प्रतिष्ठान नवलपरासीका कूलपति डा. घनश्याम न्यौपानेले साहित्यकारका लागि राजनीति खतरनाक हुने बताए । शनिबार स्याङ्जाको वालिङमा भेषजराज साहित्य प्रतिष्ठानले आयोजना गरेको भेषजविन्दु साहित्यिक पुरस्कार एवम् भेषजराज साहित्य सम्मान कार्यक्रममा सम्वोधन गर्दै डा. न्यौपानेले हात मिलाए पनि राजनीतिले मन मिल्न नदिने खतरा भएको बताएका हुन् । ‘साहित्यमा समभाव हुन्छ, विभाजन हुँदैन, त्यसैले साहित्यले सबैलाई जोड्ने काम गर्छ । सबैको मन र विचारलाई जोड्छ भने राजनीतिले फुटाउने काम गर्छ ।’ कूलपति डा. न्यौपानेको भने । उनले श्रष्टाहरुमा चिन्तन र उदारता हुने उल्लेख गरे ।
भेषजराजलाई आँफूले वाल्यावस्थादेखि नै सम्मान र श्रद्धापूर्वक हेरिने व्यक्तित्व रहेको समेत डा. न्यौपानेले बताए । २०११ सालमा नै वनारसमा रहँदा भेषजराजले कविताले लेखेको उल्लेख गर्दैं डा. न्यौपानेले स्याङ्जा जिल्लाकै पहिलो साहित्यिक पत्रकार भएको जिकिर गरे । भेषजराजका खण्डकाव्य, समालोचना, कविता, निवन्धलगायतका गहन पुस्तकहरु छन् । उहाँ एक अव्वल साहित्यकार भएको न्यौपानेले बताए । भेषजराजलाई युगौंयुग बचाउन प्रतिष्ठानको भूमिका छ, रहिरहोस र रहिरहन आवस्यक रहेको बताए ।
प्रतिष्ठानले २०७४ सालदेखि विभिन्न साहित्यकारहरुलाई पुरस्कारसहित सम्मान गर्दै आएको छ । प्रतिष्ठानले भेषजविन्दु साहित्यिक पुरस्कार एवम् भेषजराज साहित्य सम्मानका साथै नियमित रचनावाचनलाई पनि निरन्तरता दिएको छ । नियमित कार्यक्रम अन्तर्गत ५७ औं शृङ्खलाको रचनावाचन गरिएको थियो ।
कार्यक्रममा शान्ता थापा, अनन्तराज अर्याल, दमकला बगाले, तोलाकान्त बगाले, शम्भु अर्याल, कमल बगाले, बविन पाठक, चिन्तु गिरी, छन्द बचाउ अभियन्ता माधवप्रसाद शर्मा तथा पाल्पाली साहित्यकार राजेन्द्रगोपाल सिं लगायतले आ—आफ्ना रचनावाचन गरेका थिए ।
यसका साथै प्रतिष्ठानका संस्थापक डा. अच्युतशरण अर्याल तथा सम्मानित व्यक्तित्व विश्वप्रेम अधिकारी, यामलाल शर्मा पंगेनीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गरेका थिए ।
प्रतिक्रिया